फुकेट, थाइल्याण्ड — थाइल्याण्डको फुकेटमा सम्पन्न दोस्रो संस्करणको 'ग्लोब समिट : ग्लोबल लिडरसिप इन हस्पिटालिटी एन्ड टुरिज्म म्यानेजमेन्ट २०२५' मा नेपाली स्वामित्वको चर्चिल इन्स्टिच्युट अफ हायर एजुकेसन (अस्ट्रेलिया)ले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाएको छ ।
२१ देखि २३ जुनसम्म फुकेटको र्याडिसन रिसोर्ट एन्ड स्वीट्समा आयोजित सम्मेलनमा चर्चिल इन्स्टिच्युटका तर्फबाट प्रस्तुत दुई अनुसन्धान कागजातले क्रमशः श्रेष्ठ सम्मेलनपत्र र श्रेष्ठ प्रस्तुतिको उपाधि प्राप्त गरेको हो ।
बेस्ट कन्फेरेन्स पेपर डा. सिद्धार्थ जैन, डा. सैयद महमूद अहमद, र डा. रिचर्ड रोबिन्सनले लेखेका थिए भने बेस्ट प्रिजेन्टेसनको उपाधि डा. थोमस डेनीगनले पाएका हुन् ।
उक्त सम्मेलनमा विश्वभरका शिक्षाविद्, नीति निर्माता, र पर्यटन क्षेत्रका नेताहरू सहभागी थिए। ग्लोब समिटलाई एकेडेमिया रिसर्च ल्याब र ग्रेइसी फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको थियो ।
नेपाली व्यवसायीको स्वामित्वमा सञ्चालित चर्चिल इन्स्टिच्युटले यो सफलतालाई नेपाली–अस्ट्रेलियन शैक्षिक समुदायका लागि गौरवको विषय भएको प्रतिक्रिया दिएको छ ।
'यी पुरस्कारहरू चर्चिलबाट निस्किएको अनुसन्धानको स्तरको प्रमाण हुन् । यो संस्थाले विश्वस्तरीय, मूल्यमा आधारित र नवप्रवर्तनमुखी शिक्षाको लक्ष्यमा दृढ छ,' चर्चिल इन्स्टिच्युटका प्रवक्ताले विज्ञप्तिमा भनेका छन् ।
