काठमाडौँ — सार्क विकास कोष (एसडीएफ) ले सेभ द चिल्ड्रेनसँगको सहकार्यमा 'गुणस्तरीय समावेशी प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षाको लागि साझेदारी' नामक क्षेत्रीय परियोजना सुरु गरेको छ । सार्क विकास कोष र सेभ द चिल्ड्रेनको संयुक्त लगानी रहेको तीन वर्षे परियोजनाको कूल लागत ४.७९ मिलियन अमेरिकी डलर रहेको छ ।
परियोजनाले नेपाल र भुटानका सरकार, स्थानीय समुदाय, शिक्षक, प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षा सहजकर्ता, र ३ देखि १२ वर्ष उमेर समूहका बालबालिकासँग सहकार्य गर्दै गुणस्तरीय, समावेशी प्रारम्भिक बाल विकास र आधारभूत शिक्षाको प्रवर्द्धन गर्नेछ ।
सार्कका महासचिव महामहिम मोहम्मद गोलाम सर्वारले परियोजनाले भुटान र नेपालको राष्ट्रिय प्राथमिकताहरू कार्यान्वयन गर्न सहयोग गर्नुका साथै शिक्षामा समान पहुँचको प्रवर्द्धन र मानव विकासमार्फत सार्कको गरिबी निवारण कार्य योजनामा पनि योगदान पुर्याउने बताए । परियोजनाले समुदायस्तरमा साझा चुनौती सामना गरिरहेका र उस्तै मनोभावना बोकेका अन्य सार्क सदस्य राष्ट्रहरूमा पनि यस्तै किसिमका पहलहरू सुरु गर्न प्ररित गर्ने उनको भनाइ छ ।
नेपालमा परियोजना मधेश प्रदेशमा कार्यान्वयन गरिनेछ, जहाँ प्रारम्भिक बाल विकासका सूचकहरू अत्यन्त कमजोर छन्। हालै गरिएको एक अध्ययनले पूर्वाधार, सिकाइ सामग्री, हेरचाहकर्तामा चेतना, र अपांगता समावेशीतामा गहिरो खाडल रहेको देखाएको छ- विशेष गरी महोत्तरी र सर्लाही जिल्लामा, जहाँ ५३ प्रतिशत भन्दा बढी जनसंख्या निरक्षर छन् ।
सेभ द चिल्ड्रेन नेपाल र भुटानकी राष्ट्रिय निर्देशक तारा क्षेत्रीले समावेशी शिक्षाका लागि तत्काल कदम चाल्नु पर्ने आवश्यकता औंल्याइन् ।परियोजना क्रियाकलापहरु समावेशी प्रारम्भिक बाल शिक्षा सुधारमा केन्द्रित रहनेछन् । परियोजना अन्तर्गत कक्षाकोठा निर्माण तथा जीर्णोद्धार, सुरक्षित एवं पहुँचयोग्य सिकाइ वातावरण निर्माणका लागि खानेपानी, सरसफाइ र स्वच्छता पूर्वाधारहरुको स्तरोन्नति, घरायसी पुस्तकालयको माध्यमबाट घरमै प्रारम्भिक साक्षरता प्रवद्र्धन गर्न उमेर–उपयुक्त समावेशी शैक्षिक सामाग्रीहरुको व्यवस्था समावेश छन् ।
