डा. भगवान कोइराला नेतृत्वमा निर्माण भइरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सहयोग गर्न असार २ सम्म अभियान
काठमाडौँ — बाल अस्पताल निर्माणमा सहयोग गर्ने उद्देश्यले पठाओ नेपालले ‘राइड फर अ कज’ अभियान’ सुरु गरेको छ ।
डा भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई सहयोग गर्ने उद्देश्यले जेठ २७ गतेदेखि असार २ गतेसम्म उक्त अभियान सञ्चालन गरिएको पठाओ नेपालकी मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् । आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट वञ्चित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले उक्त अभियान सुरु गरेको उनको भनाइ छ ।
अभियानअन्तर्गत प्रत्येक राइडबाट प्राप्त हुने रकमबाट केही हिस्सा बाल अस्पतालका लागि छुट्याइनेछ । 'यसरी छुट्याइने रकम राइडरबाट नभई कम्पनीको आम्दानीबाट कट्टा गरिनेछ,' हमालले भनिन्, 'पठाओ नेपालको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अभियान सञ्चालन गरिएको हो ।'
अभियानबाट संकलन हुन रकम बालमैत्री अस्पताललाई दिइनेछ । उक्त रकमबाट अस्पतालको भवन निर्माण र अस्पतालको उपकरण खरिदलगायतमा खर्च हुनेछ । डा कोइराला नेतृत्वमा रहेको उक्त अस्पताल नेपालमा बाल स्वास्थ्य सेवा सुलभ र प्रभावकारी बनाउने दिशामा कार्यरत संस्था हो ।
डा कोइरालाले काठमाडौँसहित सातै प्रदेशमा बाल अस्पताल निर्माणको अभियान अघि सारेका छन् । कोशी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल निर्माण भइसकेको छ । अब भने काठमाडौँसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ ।
