काठमाडौँमा हुवावेको ‘मिनी मोबाइल वर्ल्ड कंग्रेस’

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

Huawei's ”Mini Mobile World Congress” in Kathmandu

काठमाडौँ — हुवावे नेपालले काठमाडौँमा मिनी मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लुसी) २०२५ सम्पन्न गरेको छ । हुवावे टावर, हात्तीसारमा आयोजित कार्यक्रममा हुवावेका स्मार्ट डिभाइस, इन्टेलिजेन्स अटो सोलुसन, आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल पावर, सूचना प्रविधि पूर्वाधार, क्लाउड र फाइभजीजस्ता अत्याधुनिक प्रविधिहरू प्रदर्शन गरिनुका साथै यस विषयमा जानकारी दिइएको थियो ।

स्पेनको बार्सिलोनामा हरेक वर्ष आयोजना हुने ग्लोबल मोबाइल वर्ल्ड कंग्रेसबाट प्रेरित यो स्थानीय संस्करणमा प्रविधिको आदान-प्रदान, उद्योग सहकार्य र नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्य रहेको थियो । ‘पछिल्लो समय विकास भइरहेको फाइभजी र फाइभ पोइन्ट फाभइजीको उपयोगिता, टेलिकम सेवालाई भ्यालु एड गर्ने विधि, टेलिकम कम्पनीले भइरहेको प्रविधिलाई कसरी मनिटाइज गर्ने विषयमा जानकारी दिइएको थियो,’ हुवावेले भनेको छ । कम्पनीले डिजिटल रूपान्तरणलाई केन्द्रित गरी विभिन्न जानकारी उपलब्ध गराएको थियो ।

ऊर्जा भण्डारण प्रणाली, स्मार्ट पीभी सोलुसन र २५० किलोवाटदेखि ६०० किलोवाट क्षमताका अल्ट्रा–फास्ट इभी चार्जिङ प्रविधिको प्रदर्शन गरिएको थियो । क्लाउड र डेटा सेन्टरअन्तर्गत रहेर सुरक्षित आईटी पूर्वाधार विकासबारे विमर्श भएको थियो । अनुसन्धान तथा विकास (आरएन्डडी) का सन्दर्भमा हुवावेले आफ्नो विश्वव्यापी आम्दानीको २१ प्रतिशत हिस्सा यसमा खर्च गर्ने जानकारी दिँदै नवप्रवर्तनप्रति कम्पनीको दृढ प्रतिबद्धता व्यक्त गरेको थियो । 

कान्तिपुर

Link copied successfully