काठमाडौँ — डिजिटल भुक्तानी सेवा प्रदायक फोन पेले एभरेस्ट बैंकसँग सहकार्य गर्दै ‘एभरेस्ट फोनपे क्रेडिट कार्ड’ सेवा सुरु गरेको छ । यो नयाँ प्रवर्तनात्मक सेवा अहिले प्रयोगकर्ताहरूका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यस सेवाअन्तर्गत ग्राहकले भर्चुअल क्रेडिट कार्ड ‘ईबीएल टच २४’ मोबाइल बैंकिङ एपमार्फत सहज रूपमा पहुँच पाउने कम्पनीले जनाएको छ । यस क्रेडिट कार्डमार्फत प्रयोगकर्ताले देशभर रहेका फोन पे क्यूआर कोड भएका व्यापारीमा स्क्यान गरेर सहज र सुरक्षित भुक्तानी गर्न सक्ने कम्पनीको भनाइ छ ।
फोन पे क्रेडिट कार्डले ब्याजरहित अवधि, नियन्त्रित खर्च सुविधा र डिजिटल क्यूआरमा आधारित कारोबारलाई समेट्दै प्रयोगकर्ताका लागि थप सुविधा र पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको जनाएको छ । यस अवसरमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले एभरेस्ट बैंकको सहभागिताले कम्पनीको समावेशी, सुरक्षित र नवप्रवर्तनशील क्रेडिट समाधानको यात्रालाई थप गति दिएको बताए ।
