काठमाडौँ — एनसेल फाउन्डेसनले ‘सिप मेला २०८२’ का लागि काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको छ ।सिप विकास अन्तर्गत काठमाडौं महानगरले आयोजना उक्त मेलामा रोजगारीमुखी तालिम दिइने लक्ष्य लिइएको छ ।
जसले सहभागीहरूको रोजगारी सम्भावना वृद्धि गर्दै दिगो जीविकोपार्जनमा सहयोग पुर्याउने जनाइएको छ । महानगरद्वारा जेठ २१ मा टुँडिखेलमा आयोजित एक समारोहबीच महानगर र एनसेलबीच सम्झौता भएको हो ।
महानगरका सीप मेला कार्यान्वयन समितिका संयोजक शैलेन्द्र झा र गतिशील अभियान नेपालका तर्फबाट अध्यक्ष रामजीप्रसाद पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् भने एनसेलकोतर्फबाट एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर, विशाखा लक्ष्मी खड्का र कर्पोरेट एन्ड रेगुलेटरी अफेयर्स डाईरेक्टर डिल्लीराम श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
'एनसेल फाउन्डेसनमा हामी सिप अभिवृद्धि नै रोजगारीको सम्भावना बढाउने र दिगो जीविकोपार्जनको आधार निर्माण गर्ने प्रमुख उपाय हो भन्ने विश्वास गर्छौ,’ एनसेल फाउन्डेसनकी प्रोजेक्ट डाईरेक्टर खड्काले भनिन्, ‘महानगरको सहकार्यबाट युवालाई व्यवहारिक सिप प्रदान गरी आजको परिवर्तनशील रोजगारी बजारमा सफल हुन सघाउने विश्वास लिएका छौं ।’
जेठ ७ देखि सुरु भएको सिप मेलामा हाल १० क्षेत्रमा आधारित ३७ पेसामा २,४२४ जनालाई सीप तालिम प्रदान गरिरहेको छ । यसमा आइसिटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, कृतिम बौद्धिकता र यसको प्रयोग (एआइ एन्ड इट्स एप्लिकेसन) गरी १२ पेसा छन् ।
