प्रीति र सजनले अमेरिकामा सुरु गरे ‘मोमो भेन्चर क्यापिटल’

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

Preeti and Sajan start 'Momo Venture Capital' in America

काठमाडौँ — नेपाली डायस्पोराका अभियन्ताद्वय प्रीति अधिकारी र सजन गौतमले अमेरिकामा ‘मोमो भेन्चर क्यापिटल’ सुरु गरेका छन् । सो भेन्चर क्यापिटल फर्मले टेक-स्टार्टअपहरूमा लगानी गर्ने र विशेषगरी साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), फिनटेक, डिजिटल स्वास्थ्य, बायोटेकमा आधारित समस्या समाधानमा केन्द्रित हुने जनाएको छ ।

‘नेपाली समुदायमा ‘मोमो’ शब्दले जुन आत्मीयता र अपनत्वको भाव जगाउँछ, हामी त्यही भावनालाई लगानीमा प्रतिबिम्बित गर्न चाहन्छौँ,’ मोमो भीसीकी सह-संस्थापक तथा जनरल पार्टनर प्रीति भन्छिन्, ‘हामी पुँजी मात्र होइन, फाउन्डरहरूलाई मार्गदर्शन, विश्वासिलो साथ र बलियो समर्थन दिन प्रतिबद्ध छौँ ।’

प्रीतिले यसअघि ‘द ग्रेट नेपाली डायस्पोरा’ स्थापना गरेकी थिइन् । उनले फ्युजमसिन्स इन्कमा पनि काम गरेकी थिइन् । मोमोका सह-संस्थापक सजन भने अमेरिकास्थित आर्भेस्ट बैंकमा चिफ इन्फर्मेसन सेक्युरिटी अफिसर रहेको विज्ञप्तिमा उल्लेख छ । उनले यसअघि  सीटी र ईवाईमा समेत काम गरिसकेका छन् । 

मोमो भीसीले अमेरिकाको इमिग्रेसन टेक प्लाटफर्म ‘आइमेरा’मा लगानी गरिसकेको र आगामी तीनदेखि पाँच वर्षभित्र ४० स्टार्टअपहरूमा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । नेपालमा पनि छुट्टै स्थानीय फण्ड स्थापना गर्ने कम्पनीले जानकारी दिएको छ । 

मोमो भीसीले इन्क्युबेटर, एक्सेलेरेटर, स्टार्टअप हब, विशेषज्ञहरू, पेसागत संघ र शैक्षिक संस्थासँग सहकार्य गर्दै स्टार्टअप कम्पनीहरूलाई सफल बनाउन सहयोग गर्ने जनाएको छ ।

कान्तिपुर

Link copied successfully