काठमाडौँ — सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले सबैजसो सूचकमा सुधार गर्न सफल भएको छ।
बैंकको वितरणयोग्य मुनाफा २४ करोड २ लाख ७१ हजार २ सय ६९ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड १ लाख ९४ हजार ८ सय ४३ रुपैयाँ ऋणात्मक रहेको थियो ।
चालु आर्थिक वर्षको गत त्रैमास (पुस मसान्तसम्म) मा वितरणयोग्य मुनाफा १२ करोड ६ लाख २३ हजार ५ सय ७३ रुपैयाँ रहेको थियो । यो गत त्रैमासको तुलनामा ९९ दशमलव १९ प्रतिशतले बढी हो । यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको प्रति शेयर वितरण योग्य मुनाफा ९.०१ रुपैयाँ पुगेको छ ।
बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६२ करोड १८ लाख ८५ हजार ३ सय ९३ रुपैयाँ सञ्चालन मुनाफा र ४३ करोड ४२ लाख १८ हजार ३ सय ३४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सञ्चालन मुनाफा चालु आर्थिक वर्षको गत त्रैमासको तुलनामा ११९ दशमलव ५४ प्रतिशत र गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा ६० दशमलव ७४ प्रतिशतले बढी हो ।
खुद मुनाफा, चालु आर्थिक वर्षको गत त्रैमासको तुलनामा १२० दशमलव ९१ प्रतिशतले र गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ६१ दशमलव १९ प्रतिशतले धेरै हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस डेभलपमेन्ट बैंकले ५६ अर्ब ६१ करोड कुल निक्षेप संकलन गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा १ दशमलव ८४ प्रतिशतले बढी हो ।
यस्तै बैंकले तेस्रो त्रैमासमा ४६ अर्ब ८९ करोड ऋण लगानी गरेको छ जुन गत आर्थिक वर्षको तुलनामा ४ दशमलव २३ प्रतिशतले बढी हो । सुधारसङ्गै यस डेभलपमेन्ट बैंकको जगेडा कोष बृद्धि भएर १ अर्ब ८६ करोड ९३ लाख ३ हजार ३३ रुपैयाँभन्दा बढी पुगेको छ भने प्रति शेयर आम्दानी बढेर १६ रुपैयाँ २८ पैसा पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको रिटर्न अन इक्विटी १० दशमलव ९३ प्रतिशत पुगेको छ ।
गत आर्थिक वर्षको चैत मसान्तमा यो प्रतिशत ७ दशमलव ७६ रहेको थियो । बैंकले खराब कर्जा घटाउनमा पनि प्रगती गरेको छ । चालु आर्थिक वर्षको गत त्रैमासमा ४ दशमलव ९९ प्रतिशतमा रहेको यस डेभलपमेन्ट बैंकको खराब कर्जा तेस्रो त्रैमासमा ४ दशमलव ९७ प्रतिशतमा झरेको छ ।
