आईटी विद्यार्थीलाई मदन भण्डारी विश्वविद्यालयले छात्रवृत्ति दिने

क्यान महासंघ र मदन भण्डारी विश्वविद्यालयबीच सहकार्य

वैशाख ४, २०८२

कान्तिपुर संवाददाता

Madan Bhandari University to give scholarship to IT students

काठमाडौँ — मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्नातकोत्तर तहका दुई आईटी शैक्षिक कार्यक्रमका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ । आगामी २०२५ मे १६ बाट सुरु हुने शैक्षिक सत्रका लागि मास्टर अफ एप्लाइड साइन्स (एमएएस) इन आर्टिफिसियल इन्टेलिजेन्स र मास्टर अफ एप्लाइड साइन्स इन डेटा साइन्स कार्यक्रममा आंशिकदेखि पूर्ण छात्रवृत्ति प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।

पूर्णकालीन (फुल टाइम) दुई वर्षे अनुसन्धानमुखी यी शैक्षिक कार्यक्रम अध्ययन गर्न मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तहमा विज्ञान, इन्जिनियरिङ, प्रविधि वा अन्य सम्बन्धित विषयमा न्यूनतम ४.० जीपीए स्केलमा २.७५ (वा अन्तर्राष्ट्रिय समकक्षता) हासिल गरेको हुनुपर्ने विश्वविद्यालयले जनाएको छ । 

योसँगै कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ (क्यान) र मदन भण्डारी विश्वविद्यालयबीच डिजिटल प्रविधिको प्रवर्द्धनका लागि दीर्घकालीन सहकार्य गर्न सम्झौतासमेत भएको छ । सम्झौताअनुसार दुई संस्थाले नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकास र दक्ष जनशक्ति उत्पादनमा मिलेर काम गर्ने भएका छन् ।

विश्वविद्यालयका अध्यक्ष डा. राजेन्द्रध्वज जोशी र क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा विश्वविद्यालय र क्यान महासंघले प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने, डिजिटल प्रविधिको अनुसन्धान र विकासमा सहयोग गर्ने, विभिन्न तालिम, सेमिनार र ज्ञान सञ्जाल कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख छ ।

साथै, विद्यार्थीहरूलाई उद्योगमा इन्टर्नशिपको अवसर प्रदान गर्ने र उद्योग-शिक्षा सहकार्यलाई प्रोत्साहित गर्ने कार्ययोजना पनि छ ।दुवै पक्षका तर्फबाट फोकल पर्सन तोकिएको विज्ञप्तीमा उल्लेख छ । यसअनुसार विश्वविद्यालयबाट उपप्राध्यापक डा. राजीव सुब्बा र महासंघबाट निवर्तमान अध्यक्ष रणजितकुमार पोदारले सहकार्यका कार्यक्रमहरूलाई समन्वय गर्नेछन् ।

कान्तिपुर

Link copied successfully