काठमाडौँ — नेपालमा सवारी आयात गर्ने अटो व्यवसायीले नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चर एसोसिएसन (नाइमा) को आधिकारिक घोषणा गरेका छन् । काठमाडौंमा बुधबार आयोजित एक समारोहबीच नाइमाको घोषणा गरिएको हो ।
नाइमाको अध्यक्षमा टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य छिन् । साथै नाइमामा नाडाका दुई पूर्वाध्यक्ष पनि सञ्चालकका रूपमा छन् । नाडाका पूर्वाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा पनि नाइमामा सदस्य छन् । उनी हंसराज हुलास चन्द एन्ड कम्पनीमा आबद्ध छन् । गोल्छा ग्रुपका अध्यक्ष रहेका शेखरको कम्पनीले बजाज, केटीएम र ट्रयाम्फका मोटरसाइकल नेपालमै एसेम्बल गर्दै आएको छ । यसैगरी नाडाका पूर्वाध्यक्ष सौरभ ज्योति पनि नाइमाको सञ्चालकमा छन् । होन्डाका मोटरसाइकल र कारको बिक्री वितरण गर्दै आएको स्याकार ट्रेडिङका अध्यक्ष ज्योतिले मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल गर्दै आएका छन् । यसैगरी यस संस्थामा लक्ष्मी मोटर कर्पोरेसनका सञ्चालक निराकार श्रेष्ठ र साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ पनि सञ्चालकमा चुनिएका छन् । महिन्द्राका प्यासेन्जर र लाइट कमर्सियल गाडी बिक्री गर्दै आएको अग्नि इनकर्पोरेटका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, किया र इसुजुको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङका सुह्युद घिमिरे, एसपीजी अटोमोबाइल कम्पनीका तर्फबाट सन्दीप सारडा, सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छा र पारामाउन्ट मोटर्सका सञ्चालक निकुन्ज अग्रवाल पनि सञ्चालक समितिमा रहेको नाइमाले जनाएको छ ।
