कोटेश्वर भाटभटेनी पूर्ण सञ्चालनमा

चैत्र १६, २०८१

कान्तिपुर संवाददाता

Koteshwar Bhatbhateni in full operation

काठमाडौँ — कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केट शनिबार बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । शुक्रबार दिउँसो राजावादीको प्रदर्शनका क्रममा अनियन्त्रित भीडले भाटभटेनीमा लुटपाट एवं क्षति पुर्‍याएको थियो ।

शुक्रबारको दुर्भाग्यपूर्ण घटनापछि सुपरमार्केट सञ्चालन टोलीले आज सबै कुरा सामान्य अवस्थामा फर्काउन कडा मेहनत गरेको जानकारी दिएको छ ।

'हामी हाम्रा ग्राहकलाई भ्रमण गर्न र विश्वासका साथ किनमेल गर्न आमन्त्रण गर्दछौं । तपाईंको सुरक्षा र सन्तुष्टि हाम्रो प्राथमिकता हो । तपाईंको निरन्तर समर्थनको लागि धन्यवाद ।,' सुपरमार्केटले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

शुक्रबारको तोडफोड र लुटपाटबाट ७०, ७५ लाखको खाद्यान्न, मदिरा लगायतका सामग्रीहरु लुटपाट भएको प्रारम्भिक अध्ययनबाट खुलेको भाटभटेनीका सीओओ पानु पौडेलले बताएका छन् । सिसा र प्यानलको तोडफोडबारे इन्जिनियरले अध्ययन गरिररहेको उनले बताए ।

कोटेश्वरबाट दक्षिणतर्फ लागेको प्रदर्शनकारीको भीडले भाटभटेनी सुपरमार्केटलाई आफ्नो निसाना बनाएर शुक्रबार तोडफोडका साथै लुटपाट गरेको थियो । भाटभटेनीमा तोडफोड गरेर बालकुमारीतर्फ अघि बढेका राजावादीले ७ वटा गाडी जलाएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully