पोखरा — पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) को आयोजना चैत १४ देखि १७ सम्म पोखरामा ‘पहिलो वाडा अटो शो २०२५’ हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा गण्डकी प्रदेशमै पहिलोपल्ट पोखराको अमरसिंह चौरमा अटो शो हुने भएको हो ।
गण्डकी प्रदेशलाई लक्ष्य गरी अटो शो आयोजना हुन लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले बताए । सवारीसाधन खरिदबिक्री एवं यस क्षेत्रमा भइरहेका आधुनिक प्रविधि विकासतर्फ सवारीधनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचि बढिरहेकाले अटो शो आयोजना गर्न लागिएको उनको भनाइ छ ।
‘यसले गण्डकीमा सवारीसाधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास, बजारीकरण र विस्तारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ उनले भने । प्रदर्शनीमा १९ ब्रान्डका चारपांग्रे, ६ वटा ब्रान्डका लाइट कमर्सियल, ७ वटा ब्रान्डका दुई पांग्रेलगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य पार्टपुर्जाका कम्पनी तथा वित्तीय संस्थाका २० स्टल रहने अटो शोका संयोजक एवं वाडाका उपाध्यक्ष निरन केसीले जनाए ।
