काठमाडौँ — नेपालकै ठूलो डीयरवक (डीडब्लु) आईटी फेयर २०२५ सम्पन्न भएको छ । डीयरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (डीयरवाक कलेज)ले विभिन्न २९ कम्पनीको सहभागितामा सिफलस्थित डीयरवाक कलेजमा आइटी अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै आइटी फेयरको सातौं संस्करण गरेको हो ।
फेयरमा आईटी पढेर रोजगारीको खोजीमा रहेकादेखि पढ्दै गरेका विद्यार्थीसम्म गरी करिब तीन हजारले अवलोकन गरे । फेयरका कार्यक्रम संयोजक श्याम सुन्दर खतिवडाले फेयरमार्फत रोजगारदातालाई जोड्ने काम भएको बताए ।
‘फेयरमा आइटीका विभिन्न २९ वटा कम्पनीहरुको सहभागिता छ, मेला विद्यार्थी र कम्पनीका लागि आफ्ना भ्याकेन्सीलाई पूरा गर्नका लागि अवसर बनेको छ,’ खतिवडाले भने । उनका अनुसार सन २०१६ देखि यो मेला आयोजना हुँदै आएको छ । अनुभव प्राप्त ब्यक्तिहरुले आइटीमार्फत आफ्नै घरमा बसेर चार-पाँच लाखसम्म कमाइरहेको उनको भनाइ छ ।
डियरवाक ग्रुपका अध्यक्ष क्याम्पस प्रमुख हितेश कार्कीले विद्यार्थीहरु आइटीसम्बन्धी रोजगारी कहाँ कसरी पाइन्छ भन्ने जानकारी बिना नै अध्ययन गरिरहेको पाइएकाले मेलामार्फत जोड्ने प्रयास हुँदै आएको बताए ।
