काठमाडौँ — ग्लोबल आईएमई बैंकले ‘ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन’ प्रतियोगिता आयोजना गरेको छ ।
आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी प्रतियोगिता आयोजना गर्न लागिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्ष्य गर्दै सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवा विकासका लागि उक्त प्रतियोगिता गर्न लागेको हो ।
बैंकको वेबसाइटमार्फत दर्ता गरेर प्रतियोगितामा सहभागी हुन सकिनेछ । पहिलो चरणमा अनलाइन पेपर प्रस्तुति र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुने बैंकले जनाएको छ । पहिलो चरणका लागि प्रतियोगीले २०२५ को अप्रिल ४ र दोस्रो चरणअन्तर्गतको प्रतियोगिता मे १ मा हुनेछ । प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले बैंकले तोकेका विभिन्न विषयमा केन्द्रित रही आफ्ना धारणा प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसरसमेत प्रदान गरिने बैंकले बताएको छ ।
