काठमाडौँ — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी वस्तु तथा सेवा उपलब्ध गराउने ‘फ्युजमेसिन्स’ ले ‘एआई फेलोशिप-२०२५’ का लागि आवेदन खुला गरेको छ । अमेरिकी विश्वविद्यालयका प्राध्यापक तथा एआई उद्योगका विज्ञहरूले डिजाइन गरेको कार्यक्रममार्फत एआई तथा डेटा साइन्समा विशेषज्ञ उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
६ महिना सञ्चालन हुने फेलोशिपका लागि कम्प्युटर साइन्स, प्रोग्रामिङ, गणित तथा सफ्टवेयर विकासमा ज्ञान भएका विद्यार्थी, प्राविधिक पेशाकर्मी तथा एआईप्रति रुचि राख्ने जो कोहीले आवेदन दिन सक्नेछन् । छनोट प्रक्रियामा सफल भएका सहभागीलाई पूर्ण छात्रवृत्ति दिइने फ्युजमेसिन्सले जनाएको छ ।
फ्युजमेसिन्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत समीर मास्केका अनुसार एआईको प्रभाव व्यापक बन्दै गएकाले प्रविधि विकास र गुणस्तरीय शिक्षा एकसाथ अघि बढाउन आवश्यक छ । ‘प्रतिभा विकास गर्ने हाम्रो रणनीति प्राविधिक ज्ञान उपलब्ध गराउनेमा मात्रै सीमित छैन,’ मास्के भन्छन्, ‘हामी नवीन सोच विकासका लागि तालिम र अवसर प्रदान गर्नेमा पनि केन्द्रित छौँ । कार्यक्रममार्फत हामी नेपालका युवालाई एआईमा दक्ष बनाउँदै विश्वव्यापी प्रविधि क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्न सक्षम बनाउनेछौं ।’
फ्युजमेसिन्सले सन् २०१७ देखि सुरू गरेको एआई फेलोशिप कार्यक्रममार्फत हालसम्म १२ देशका एक हजारभन्दा बढी विद्यार्थीलाई प्रशिक्षित गरिसकेको विज्ञप्तीमा उल्लेख छ । कम्पनीका प्रबन्ध निर्देशक पराग श्रेष्ठले नेपाल अहिले एआई प्रविधिको युगमा प्रवेश गरिरहँदा सही तरिकाले जनशक्ति, पूर्वाधार र समावेशीतामा लगानी गर्न सकियो भने नेपालले विकासको नयाँ युगका अवसर हासिल गर्न सक्ने बताए । ‘फेलोशिप कार्यक्रमले एआईमा दक्ष जनशक्ति उत्पादन गर्दै विश्व बजारका लागि तयारी गराउँछ,’ उनले भने ।
कार्यक्रममा सहभागी विद्यार्थीले जेनेरेटिभ एआई, मेशिन लर्निङ, डिप लर्निङ, नेचुरल ल्यांग्वेज प्रोसेसिङ, कम्प्युटर भिजन, प्रम्प्ट इन्जिनियरिङ र एमएल अप्स जस्ता आधुनिक विषयमा गहन बुझाइ हासिल गर्ने फ्युजमेसिन्सको दाबी छ । सहभागीहरूलाई साप्ताहिक रूपमा अनलाइन कक्षा, प्रोग्रामिङसमबन्धी गृहकार्य, ग्रुप प्रोजेक्ट तथा प्रयोगात्मक अभ्यासहरूमा संलग्न गराइनेछ ।
