काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले राष्ट्र बैंकलाई सवारीसाधनको ऋण मूल्य अनुपातको सीमालाई ८० प्रतिशत नै कायम गर्न अनुरोध गरेको छ ।
राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा नाडाले प्रतिक्रिया जनाउँदै उक्त अनुरोध गरेको हो । ‘राष्ट्र बैंकले समीक्षामा व्यक्तिगत सवारीसाधन र सबै प्रकारका विद्युतीय सवारीसाधनहरूको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिनेछ भनिएको छ,’ नाडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्युतीय सवारीसाधनको सम्बन्धमा पनि सोही व्यवस्था गरिँदा यस व्यवसायमा लागेका व्यवसायीलाई ठूलो मर्का पर्ने अवस्था सिर्जना भएको छ ।’
विगतदेखि नै यस विषयमा सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनहरूको ऋण मूल्य अनुपातको सीमालाई ५० प्रतिशतबाट ७५ प्रतिशत पुर्याउन राष्ट्र बैंकलाई अनुरोध गरिरहे पनि सो अनुसार नभएको गुनासो नाडाले गरेको छ । ‘सरकारले नीतिगत रूपमै हरित ऊर्जा (ग्रिन इनर्जी) लाई उच्च प्राथमिकता दिने निर्णय गरी सोहीअनुरूप सरकारले विगतको समयदेखि नै विद्युतीय सवारीसाधनलाई विशेष सुविधासमेत प्रदान गर्दै आएकामा यो समीक्षाले सरकारको उक्त नीतिलाई उपेक्षा गरेको देखिन्छ,’ नाडाले विज्ञप्तिमा भनेको छ ।
