काठमाडौँ — एनसेलले नयाँ प्रिपेड सेवा ‘सधैं अन रिन्युअल प्याक’ सञ्चालनमा ल्याएको छ । सधैं अन रिन्युअल प्याकमार्फत ग्राहकहरूले महिनाभरका लागि आफ्नो बजेटअनुसार विभिन्न अनलिमिटेड सेवा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
नेपाली ग्राहकहरूलाई तुलनात्मक रूपमा महँगो पर्ने 'पे एज यु गो' र बारम्बार लिनुपर्ने स–साना प्याकप्रतिको निर्भरता हटाएर सँधै अन अर्थात कनेक्टेड रहन सक्षम बनाउने उदेश्यले रिन्युअल प्याक सार्वजनिक गरिएको विज्ञप्तीमा उल्लेख छ । यी प्याकहरूको मुख्य विशेषता भनेको प्रयोग हुन बाँकी डेटा, टक टाइम, र एसएमएस खेर नजाने रहेको छ । त्यस्ता सेवा, सुविधाहरू अर्को महिनाका सेवा, सुविधामा थप हुन्छन् ।
हरेक ३० दिनमा नविकरण हुने यी प्याकहरूमा ग्राहकले पुरै एक महिनाको समयसीमासहित सेवा पहुँचबाट फाइदा लिन सक्ने कम्पनीको दाबी छ । यसमा साधारण सँधै अन प्याकको २८ दिन भन्दा थप दुई दिन बढिको समयावधि रहेको छ । यी प्याकहरूमा युट्युबमा अनलिमिटेड भिडियो स्ट्रिमिङ सुविधा, रातको समयमा इन्टरनेट ब्राउजिङ तथा विभिन्न सामग्री डाउनलोड गर्न अनलिमिटेड नाइट डेटाको सुविधा रहेको छ । केही प्याकमा ग्राहकहरूले महिनाभर जति पनि कल गर्न मिल्ने अनलिमिटेड अल नेपाल टक टाइमको सेवा पाउनेछन् ।
एनसेलका चीफ कमर्सियल अफिसर उमेर मोहसिनका अनुसार कार्यलयदेखि व्यक्तिगत कार्यहरू, शिक्षा, मनोरञ्जन र सोसल मिडियामा अन्तरक्रियालगायतका लागि सहज कनेक्टिभिटी अत्यन्त आवश्यक छ । 'सँधै अन रिन्युअल प्याकहरू उच्च गतिको इन्टरनेट र निरन्तर सेवाको बढ्दो मागलाई पूरा गर्ने उद्देश्यले डिजाइन गरिएको छ,' उनले भने, 'यसले गर्दा ग्राहकहरूलाई कुनै पनि अवरोध बिना कनेक्टेड रहन सहयोग गर्दछ ।'
रिन्यूअल प्याक अन्तर्गत एनसेलले बेस्ट रिन्युअल प्याक, अनलिमिटेड प्याक र अन्य भ्वाइस र डेटा रिन्युअल गरी तीन प्रकारका प्याकहरू सञ्चालनमा ल्याएको छ । पहिलो बेस्ट अन्तर्गत करसहित मासिक ३९९ रुपैयाँ, ४९९ रुपैयाँ र ५९९ रुपैयाँका प्याकहरू छन् । यसमा भ्वाइस, डेटा, र एसएमएस साथै अनलिमिटेड युट्युब, अनलिमिटेड नाइट डेटा समावेश छन् । प्याकअनुसार, यसमा ग्राहकहरूले ८ जीबीदेखि २० जीबीसम्मको डेटा, ३९९ देखि ५९९ मिनेटसम्मको अल नेपाल टक टाइम, र ३९ देखि ५९ वटा अल नेपाल एसएमएस प्राप्त गर्छन् ।
दोस्रोमा अनलिमिटेड रिन्युअल प्याक अन्तर्गत कर सहित रु. ७९९, रु. ९९९, र रु. १,४९९ का प्याकहरू समावेश रहेका छन् । यी प्याकहरुमा ग्राहकले कुनैपनि नेपाली नेटवर्कमा कल गर्न सकिने अनलिमिटेड अल नेपाल टक टाइम, अनलिमिटेड युट्युब, अनलिमिटेड नाइट डेटाका साथै प्याकअनुसार ३० जीबीदेखि १०० जीबीसम्मको डेटा र ७९ देखि १४९ वटा अन नेपाल एसएमएस सेवा प्राप्त गर्दछन् । त्यसैगरी, तेस्रो रिन्युअल सेवाअन्तर्गत डेटा र भ्वाइसमात्र पाइने प्याकहरू रहेका छन् ।
