एप्पलले ल्याउँदै छ सस्तो दरको एसई ४ फोन 

फाल्गुन ७, २०८१

कान्तिपुर संवाददाता

Apple is bringing a low-cost SE 4 phone

काठमाडौँ — एप्पलले आज साँझ एउटा नयाँ आइफोन वा कुनै डिभाइस सार्वजनिक गर्ने अनुमान गरिएको छ । कम्पनीका प्रमुख टिम कुकले केहीदिन अघि मात्रै फेब्रुअरि १९ अर्थात बुधबारको कार्यक्रमबारे सामाजिक सञ्जालमा टिजर पोस्ट गरेका थिए ।

 उनले ‘परिवारको नयाँ सदस्य भेट्न तयार रहनुहोस्’ भन्दै पोस्ट गरेपछि धेरैले आईफोन एसई ४ मोडल सार्वजनिक हुने अपेक्षा गरेका छन् । 

सो मोडलबारे विभिन्न हल्ला फैलिरहेका छन् । यसलाई बजेटमैत्री वा सस्तो मूल्यको स्मार्टफोनका रूपमा प्रचार गरिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार एप्पलका फ्ल्यागशिप मोडेलहरू मात्र सीमित गरिएका विशेषताहरू नयाँ एसई मोडलमा समावेश छन् ।

आईफोन १४ को जस्तै फिचर र लुक्स भएको एसई मोडल ४ मा ए१८ चिप, ६.१ इन्चको ओएलईडी डिस्प्ले, फेस आईडी, यूएसबी-सी पोर्टसँगै पछिल्ला भर्सनमा रहेको एप्पल इन्टेलिजेन्स पनि समावेश हुने अनुमान गरिएको छ ।

एसई सिरिजलाई सुपथ मूल्य कायम गर्दै आएको एप्पलले नयाँ भर्सनको सुरुवाती मूल्य ४ सय ९९ डलर तोक्ने अनुमान गरिएको छ । भारतमा यसको मूल्य ५० हजारदेखि ५५ हजार र नेपालमा ७५ हजारदेखि ८० हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

यसका लागि फेब्रुअरि २३ देखि प्रि-अर्डर खुला गरिने र अमेरिका, क्यानडा, बेलायत र भारतमा सबैभन्दा पहिला उपलब्ध हुने अपेक्षा गरिएको छ । यो फोन पानी र धुलो प्रतिरोधात्मक हुने र यसमा ४८ मेगापिक्सेल सेन्सरको क्यामरा रहेको पूर्वानुमान गरिएको छ ।

एसई ४ सँगै म्याकबुक एयर, आइप्याड एयरका नयाँ मोडल पनि सार्वजनिक हुने अनुमान छ । एप्पललका प्रमुख वार्षिक कार्यक्रमसरह आज कुनै समारोह नगरी विज्ञप्तीमार्फत जानकारी गराइने एप्पलको तयारी छ । तथापी, नयाँ मोडल र प्रोडक्टको घोषणा युट्युब भिडियोबाट पनि हुनसक्ने बताइएको छ । 

कान्तिपुर

Link copied successfully