यल मेयर्स कप अन्तर विद्यालय रोवोटिक्समा ललितकल्याण विजयी

फाल्गुन ४, २०८१

कान्तिपुर संवाददाता

Lalit Kalyan wins Yale Mayor's Cup inter-school robotics

काठमाडौँ — ललितपुर महानगरपालिकास्तरीय यल मेयर्स कप अन्तरविद्यालय रोवोटिक्स प्रतियोगितामा ललितकल्याण आधारभूत विद्यालय विजेता बनेको छ । प्रतियोगितामा हरिसिद्धि माध्यमिक विद्यालय र हिन्दु विद्यापिठ नेपाल विद्यालय क्रमश दोस्रो र तेस्रो भए ।

त्यस्तै¸रोबोटिक्स प्रदर्शनीतर्फ श्रमिक बालविज्ञान आधारभुत माध्यमिक विद्यालय विजेता बनेको छ भने हिन्दु विद्यापिठ नेपाल विद्यालय र बालबिनोद माध्यमिक विद्यालय क्रमश दोश्रो र तेस्रो भए। उक्त प्रतियोगितामा ती विद्यालयका कक्षा ६ देखि ८ सम्मका प्रतिविद्यालय पाँच जना विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए ।

१० वटा विद्यालयका विद्यार्थीहरू आफैँले बनाएर ल्याएका रोवोटिक्स प्रोग्रामिङका विभिन्‍न मोडलहरू प्रदर्शनी गरेका थिए भने ९ वटा विद्यालयका प्रतिस्पर्धी विद्यार्थीहरूले प्रतियोगिता स्थलमा नै दिइएको चुनौतीलाई कोडिङ् गरेर स्वचालित मोडलमा पनि प्रतिष्पर्धा गरेका थिए।

रोवोटिक्स प्रोग्रामिङ र यसको सिकाइमा स्वच्छ प्रतिस्पर्धा गरेर विद्यार्थीहरूमा थप उर्जा प्रदान गर्न ललितपुर महानगरपालिका र सीटीनेट आर्ट्स जापानको सहयोग तथा केडीडीआई फाउण्डेसन जापानको आर्थिक सहयोगमा साझा शिक्षा ई-पाटी नेपालले गरेको प्रतियोगितामा विजयीहरूलाई पुरस्कार वितरण गर्दै प्रदर्शनी सकिएको छ । 

साझा शिक्षा ई-पाटी नेपालले विगत १७ वर्षदेखि शिक्षण सिकाइमा प्रविधिको प्रयोग बढाउन सहयोग र सहजीकरण गर्दै आएको वरिष्ठ प्रबन्धक टीकाराज कार्कीले बताए ।

'दैनिक जीवनका अति आवश्यक विषयमा समेत प्रविधिको प्रयोग गर्न विद्यार्थीहरूलाई सक्षम बनाउन जरूरी छ। कुनै काम भइरहेको छ भने किन र कसरी भइरहेको तिनलाई थप कौतुहलता सिर्जना गराउन सकियो भने विद्यार्थीहरूले त्यसको समाधान गर्न थप अभ्यास गर्छन्। समूहमा छलफल गर्छन्, खोजी गर्छन् र नयाँ कुरा पत्ता लगाउन सक्छन्,' कार्की भन्छन्, 'त्यसकालागि हामीले वातावरण तय गरिदिनुपर्दछ ।'

उनका अनुसार हाल साझा शिक्षा ई-पाटी नेपालले ललितपुरका १२ वटा  विद्यालयहरूमा ४५ ओटा रोवोटिक्स किट उपलव्ध गराएकोछ। शिक्षकहरूलाई तालिम र विद्यार्थीहरूलाई निरन्तर सहयोग गरिरहेको छ। 

कान्तिपुर

Link copied successfully