काठमाडौँ — अर्बिट इनर्जी लिमिटेडको साधारण सेयर निष्कासन गर्न कुमारी क्यापिटल लिमिटेड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । अर्बिटको प्रतिसेयर सय रुपैयाँ अंकित दरको ५० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारणमा निष्कासन गर्न कुमारी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।
यसका लागि अर्बिट इनर्जीका महाप्रबन्धक सुदीप खड्का र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । अर्बिट इनर्जीले संखुवासभाको सभापोखरी गाउँपालिकास्थित साभाखोलामा सभाखोला बी २१.५ मेगावाट र सभाखोला सी ६.३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको निर्माण कार्य ५५ प्रतिशत सम्पन्न भइसकेको छ । आयोजना एक वर्षभित्र सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।
