युनिग्लोबमा व्यवस्थापन सम्मेलन 

माघ २८, २०८१

कान्तिपुर संवाददाता

Management conference at Uniglobe

काठमाडौँ — नयाँ बानेश्वरस्थित युनिग्लोब कलेजले यही माघ २३ र २४ मा ‘१३ औं युनिग्लोब अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन’ गरेको छ । दुई दिन चलेको सम्मेलनले विद्यार्थीको सैद्धान्तिक र व्यावहारिक ज्ञानका साथै अनुसन्धान र अन्वेषणमूलक शिक्षा प्रदान गर्न सघाएको कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 सम्मेलनमा सहभागीका लागि व्यवसाय व्यवस्थापनको क्षेत्रमा रहेका अग्रणी विज्ञबाट अनुभव बढाउने र सिक्ने एउटा ठूलो अवसर प्राप्त भएको पोखरा विश्वविद्यालयका उपकुलपति वेदराज केसीले बताए । यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले विद्यार्थीको शैक्षिक स्तर र अनुसन्धानमा निकै ठूलो योगदान पुर्‍याउने उनको भनाइ छ ।

अन्य शैक्षिक संस्थाले पनि यस्ता कार्यक्रम गर्न आवश्यक रहेको उनले जनाए । अनुसन्धानमूलक शिक्षण पद्धतिमा जोड दिँदै अर्थशास्त्र, वित्तशास्त्र, बजार व्यवस्थापन र संस्थागत सुशासनमा हुने नयाँ अनुसन्धान र अन्वेषणले शिक्षामा नयाँ आयाम थपिने राधेश्याम प्रधानले बताए ।

युनिग्लोब कलेजले शैक्षिक क्षेत्रमा अग्रणी भूमिका खेली शैक्षिक, आर्थिक र सामाजिक क्षेत्रमा परिवर्तनका लागि अनुसन्धानमूलक शिक्षण पद्धति अपनाएको युनिग्लोब कलेजका प्राचार्य तथा अध्यक्ष नरबहादुर विष्टको भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully