बुद्ध र यतीका ‘भ्यालेन्टाइन्स अफर’

माघ २७, २०८१

कान्तिपुर संवाददाता

Buddha and Yeti's 'Valentine's Offer'

काठमाडौँ — काठमाडौंबाट एटीआर विमानमार्फत माउन्टेन (पर्वतीय) उडान गर्ने बुद्ध र यती एयरलाइन्सले भ्यालेन्टाइन्स लक्षित अफर सार्वजनिक गरेका छन् । ‘भ्यालेन्टाइन्स डे’को अवसरमा बुद्धले माउन्टेन फ्लाइटमा एउटा टिकटमा अर्को टिकट छुट अफर ल्याएको छ ।

त्यस्तै यती एयरलाइन्सले टिकट खरिदमा प्रोमो कोड ‘यती माया’ प्रयोग गर्नेलाई १४ सय रुपैयाँ छुट दिने घोषणा गरेको छ ।

१४ फेब्रुअरीका दिन मनाइने ‘भ्यालेन्टाइन्स डे’लाई थप स्मरणीय मनाउन बुद्धले अफर ल्याएको विज्ञप्तिमा उल्लेख छ । पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशंकरलगायत थुप्रै हिमशृंखला अवलोकन गर्न पाइनेछ । त्यस्तै जोडी यात्रुलाई चकलेट, गुलाफ फूल तथा चिया स्पटको मीठो खाजा–खानाका लागि डिस्काउन्ट भौचर दिइने पनि बुद्धले जनाएको छ ।

गोलाप्रथाबाट छानिने ३ जना जोडी यात्रुहरूका लागि दलाई–ला–बुटिक होटलमा दुई दिन एक रातको प्याकेज तथा अन्य सबै यात्रुका लागि डिस्काउन्ट भौचर प्रदान गर्ने बुद्ध एयरले बताएको छ । पाँच जोडीलाई चन्द्रागिरि केबलकारको आउजाउ टिकट पनि उपलब्ध गराइने बुद्ध एयरको भनाइ छ ।

यतीले पनि एक साताका लागि अफर ल्याएको छ । यसमा ७ जना यात्रुलाई पोखराको सरोवर होटलको प्याकेज ल्याइएको छ । त्यस्तै खल्ती एप प्रयोग गरेर टिकट किन्ने यात्रुमध्ये एक जोडी यात्रुलाई लक्की ड्रमार्फत पोखराको रूपाकोट रिसोर्टमा एक रात दुई दिनको प्याकेज, काठमाडौं–पोखरा राउन्ड ट्रिप टिकटलगायत छुटको अफर ल्याइएको छ ।

कान्तिपुर

Link copied successfully