काठमाडौँ — बुटवलको योगीकुटीमा सिद्धार्थ हस्पिटालिटीले निर्माण गरेको ‘सिद्धार्थ कटेज’ को लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले उद्घाटन गरे ।
सिद्धार्थ ग्रुपको २७ औं वार्षिकोत्सवका अवसरमा बुधबार मन्त्री कार्कीले नवनिर्मित कटेजको शुभारम्भ गरेका हुन् । सिद्धार्थ हस्पिटालिटी लुम्बिनी प्रदेशकै गौरव भएको उनको भनाइ छ ।
कटेजमा उत्कृष्ट एवं सुविधासम्पन्न मल्टी कुजिन रेस्टुरेन्ट सुरु गरिएको होटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बगैंचासहित रेस्टुराँ, मल्टिभेन्यु, स्विमिङ पुल, वाटरपार्क र चिल्ड्रेन पार्कको समेत सुविधासहित योगीकुटीमा सिद्धार्थ कटेज सञ्चालनमा आएको सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले जनाए ।
यससँगै बुटवलमा सिद्धार्थ हस्पिटालिटीअन्तर्गत दुईवटा कटेज भएका छन् । ‘यसअघि बुटवलको चौराहामा १३ वर्षदेखि सिद्धार्थ कटेज सञ्चालनमा छ, त्यसको सफलताले हामीलाई नयाँ आउटलेट सञ्चालनमा ल्याउन प्रोत्साहन मिलेको हो,’ न्यौपानेले भने ।
करिब ३५ कट्ठा क्षेत्रफलमा निर्माण हुन लागेको सिद्धार्थ कटेजको हलमा थिएटर सेटअपमा एकै पटकमा करिब दुई हजारलाई सेवा दिन मिल्ने क्षमताको मल्टिभेन्युको सुविधा उपलब्ध हुने उनको भनाइ छ ।
