काठमाडौँ — नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त उपाध्यक्षलगायत सदस्यहरूको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेको छ ।
राजधानीको रोयल टयुलिपमा आयोजना भएको कार्यक्रमको प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यलगायत बोर्ड सदस्यहरूलाई सम्मान गरे ।
साथै सो कार्यक्रममा सन २०२४ मा स्पेनमा भएको वर्ल्ड मोटर स्पोर्ट्स प्रतियोगितामा सहभागिता जनाएका खेलाडी एवं अफिसियलहरुलाई समेत सम्मान गरिएको थियो । यसरी सम्मानित हुने खेलाडीहरूमा दिप्रश शाक्य, कृष्ण प्रसाद पौडेल, प्रज्ञा कँडेल र अफिसियलहरूमा दशरथ रिसाल यदुराज लामिछाने र टिकाराम यात्री छन् ।
सोही कार्यक्रममा नासा नेपालका सचिव एवं विश्व मोटर स्पोर्ट्स प्रतियोगितामा दुई पटक सहभागिता जनाएका खेलाडी दिप्रश शाक्यले आफ्नो र्याली सवारी मोटर नासा नेपाललाई हस्तान्तरण गरे ।
नासा नेपालका अध्यक्ष दशरथ रिसालको सभापतित्वमा भएको सो सम्मान कार्यक्रममा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी राखेप का उपाध्यक्ष ध्रुव आचार्य राखेप का पूर्वबोर्ड सदस्य गोविन्द भट्टराई तथा नासा नेपालका उपाध्यक्ष अनिल कुमार बरालले नेपालमा मोटर स्पोर्ट्सको बढ्दो महत्त्व एवं लोकप्रियता र नासा नेपालको योगदानबारे प्रकाश पारेका थिए ।
