काठमाडौँ — ९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत् आयोजनामा कुमारी बैंकको अगुवाइमा लगानी गर्ने सम्झौता भएको छ ।
शुक्रबार भएको सम्झौताअनुसार गोरखा पालुङटार नगरपालिका, लमजुङ राइनास नगरपालिका र तनहुँ भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालीले निर्माण गर्ने उक्त अर्धजलाशययुक्त आयोजनामा बैंकको अगुवाइमा लगानी हुनेछ ।
कम्पनीका अध्यक्ष अनुप आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैक, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंकलगायत बैंक तथा वित्तीय संस्थाको १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँको संयुक्त लगानीमा आयोजना निर्माण हुने गरी ऋण सम्झौता भएको छ ।
आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० कात्तिक १ मा विद्युत् खरिद–बिक्री सम्झौता भइसकेको छ । उत्पादन सुरु गर्नुपर्ने मिति २०८६ वैशाख २२ रहेको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत् गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा प्राधिकरणको मार्कीचोक सब–स्टेसनमा २२०/१३२ केभीमा जोडिनेछ ।
