काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकले एकसाथ २७ वटा शाखा उद्घाटन गरेको छ । बैंकले यही माघ १० मा ६० औं वार्षिकोत्सवको अवसरमा शाखा कार्यालयहरूको डिजिटलमाध्यम मार्फत उद्घाटन गरेको हो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोहलपुर र महेन्द्रनगरमा नवनिर्मित भवनहरूको स्वीच थिचेर उद्घाटन गरेका हुन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक लेखापरीक्षण सम्पन्न गरी गत पुस २९ मा १९ औं वार्षिक साधारणसभा सम्पन्न गरिसकेको जानकारी गराए । साथै पुस मसान्तमा बैंकको कुल निक्षेप ४ खर्ब ५० अर्ब, कुल कर्जा सापट २ खर्ब ८४ अर्ब, चुक्तापुँजी १५ अर्ब ६३ करोड, कुल सम्पत्ती ५ खर्ब २६ अर्ब तथा नेटवर्थ ५२ अर्ब रुपैयाँ पुगेको उनले जानकारी दिए ।
