काठमाडौँ — नेपालमा अमेरिकी लगानी भित्र्याउने र दुई देशबीच व्यावसायिक सम्बन्ध स्थापना गर्ने उद्देश्यले स्थापना भएको अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम)मा सन् २०२४ मा १६ सदस्य थपिएका छन् । योसँगै एमच्याम सदस्यको संख्या ५४ पुगेको छ ।
काठमाडौंमा आयोजित साधारणसभामा एमच्यामले सदस्यता थप भएको जनाउँदै पछिल्लो एक वर्षको समीक्षासहित भावी कार्ययोजना समेत प्रस्तुत गरेको छ । कार्यक्रममा बोल्दै युएस च्याम्बर अफ कमर्स, दक्षिण एसियाका कार्यकारी निर्देशक सिद्धान्त मेहराले नेपालमा स्थापनाको छोटो समयमा एमच्यामले खेलेको भुमिकाको प्रशंसा गरे ।
एमच्यामका अध्यक्ष निर्मलकाजी श्रेष्ठले सन् २०२४ एमच्यामका लागि महत्वपूर्ण वर्ष भएको उल्लेख गर्दै नेपालमा लगानीका नयाँ अवसर सृजना गर्न, नेपाल र अमेरिकाको व्यापारिक सम्बन्ध थप बलियो बनाउने उद्देश्यका साथ क्रियाशील रहेको बताए । एमच्यामले नेपालमा विदेशी लगानीका लागि देखिएका समस्या समाधानका विभिन्न विषयमा पैरवी गर्नुका साथै उच्चस्तरीय भेटघाट समेत गर्दै आएको श्रेष्ठले उल्लेख गरे ।
अध्यक्ष श्रेष्ठले सन् २०२१ मा अजित बिक्रम शाहको नेतृत्व र नेपालस्थित अमेरिकी दूतावासको अभूतपूर्व सहयोगमा स्थापना भएको एमच्याम आज बहुआयामिक र प्रभावशाली व्यावसायिक समूहका रुपमा स्थापित भएकामा खुसी व्यक्त गरे ।
त्यसअवसरमा पछिल्लो एक वर्षमा एमच्यामले विभिन्न ५८ पटक औपचारिक रुपमा सदस्यको हितमा पैरवी गरेको जनाएको छ । २० वटा उच्चस्तरीय भेटघाट, विभिन्न विषयमा ६० वटा आलेखमार्फत पैरवीलाई अघि बढाएको जनाएको छ । यसबीचमा एमच्यामले कोषमा ३१ लाख ५० हजार रुपैयाँ जम्मा भएको एमच्यामका महाप्रबन्धक अमिरराज थापाले जनाए ।
एमच्यामले वर्षभरी नै विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रममार्फत सक्रियता जारी राखेको जनाएको छ । गत अप्रिलमा संस्थाले यूएस चेम्बर अफ कमर्शका एम्ब्यासडर अतुल केशवसँग नेपाल–अमेरिकाबीचको व्यापारिकसम्बन्धमा अन्तरक्रिया गरेको थियो भने सदस्यहरुसँग युनाइटेड स्टेट पेटेन्ट एण्ड ट्रेडमार्क कार्यालय र यूनाइटेड स्टेट ट्रेड एण्ड डेभलपमेन्ट एजेन्सीसँग पनि अन्तरक्रिया भएको एमच्यामले उल्लेख गरेकोछ ।
त्यसैगरी गत अप्रिलमा एमच्यामका प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गर्नुका साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्वमन्त्री रेखा शर्मा र सचिवालय, ऊर्जा तथा सिँचाइ मन्त्री तथा अमेरिकास्थित स्टेट डिपार्टमेन्टका अधिकारीहरुसँग वासिंटन डिसीमा समेत भेटवार्ता तथा छलफल गरेको एमच्यामको भनाइ छ ।
एमच्यामले प्रविधिको बढ्दो प्रयोग र सम्भावनालाई मध्यनजर गर्दै सन् २०२४ मा लगानी सम्मेलनको पूर्वसन्ध्यामा टेक पिक आइसिटी सम्मेलनको समेत आयोजना गरेको थियो । एमच्यामले यस अवधिमा युएसएड, विश्व बैंक, यूरोपियन यूनियन, एसियाली विकास बैंकका साथै सरकार र निजी क्षेत्रलाई एकै थलोमा ल्याउन सफल भएको उल्लेख गरेको छ ।
एमच्यामले अमेरिकी कम्पनीमा लगाइएको मूल्य अभिवृद्धि करका विषयमा सरोकारवाला पक्षहरुले संयुक्त प्रेस विज्ञप्ति समेत जारी गरी सरकारको ध्यानाकर्षण गराएको उल्लेख गरेको छ । त्यसका साथै ट्रेड नीतिसम्बन्धी अनुसन्धान, ट्रान्सफर प्राइसिङलगायतका विषयमा समेत काम गरिरहेको जनाएको छ ।
एमच्यामले एक्सपर्ट लर्निङ सिरिजलाई निरन्तरता दिएको छ । एमच्यामले नेपाल उद्योग परिसंघ (सीएनआई) र द नेपाल प्राइभेट इक्विटी एसोसिएसनसँग पनि सम्झौता गरेको छ । साथै अमेरिकाको व्यापार विभागको द इन्टरशेनल ट्रेड एड्मिनिस्ट्रेसन पनि एमओयू गरेको एमच्यामले जनाएको छ ।
एमच्यामले हाल नेपालमा लगानीका लागि विभिन्न ६ वटा क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ । जसमा पर्यटक, आईसिटी, ऊर्जा, उत्पादनमुलक उद्योग, पूर्वाधार विकास र वित्तीय क्षेत्र छन् । त्यसका साथै, एमच्यामले ट्याक्स कम्प्लायन्स, स्वेट इक्विटी, आइटी र साइबर सेक्युरिटी बिल, सोर्स कोड अनरसिप, इकमर्श बिललगायत क्षेत्रमा नीतिगत पैरवी गर्दै आएको छ ।
