काठमाडौँ — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको अध्यक्षमा सुनैना घिमिरे पाण्डे निर्वाचित भएकी छन् । यही पुस १३ मा सम्पन्न महासंघको १५औं महाधिवेशनले घिमिरेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
महासंघको अध्यक्ष पदमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी हुन् । महासंघको पहिलो महिला अध्यक्ष बनेकी उनी सफ्टवेयर डेभलपमेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक हुन् ।
घिमिरेसँग महासंघमा लामो समय विभिन्न भूमिकामा रहेर कार्यसम्पादन गरेको अनुभव छ । साथै घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन भएको छ ।
महासंघको नयाँ कार्यसमितिको उपाध्यक्षमा हर्कबहादुर सेटी, चिरञ्जीवी अधिकारी, नवीन जोशी, शेखरनाथ दुलाल, सुभाष खड्का र सिर्जना श्रेष्ठ निर्वाचित भएका छन् ।
महासचिवमा चन्द्र विलास भुर्तेल र कोषाध्यक्षमा विक्रम सिंह निर्वाचित भएका छन् । सचिवमा सरिता न्यौपाने, अग्मा मालाकार, दीपक साह, सरुना श्रेष्ठ, मनिराज पाण्डे, रामकिशोर रावल र कर्णराज पनेरु चुनिएका छन् ।
