काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं ‘चेम्बर एक्स्पो २०२५’ हुने भएको छ । चेम्बरले काठमाडौंको भृकुटीमण्डपमा माघ १७ देखि २१ गतेसम्म एक्स्पो आयोजना गर्न लागेको जनाएको हो ।
स्थानीय उत्पादनरूको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले सो एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोमा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिता हुने भएकाले आर्थिक गतिविधी, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभूषण चाकुबजीले जानकारी दिए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले एक्स्पो गर्न लागेको जानकारी दिएको छ । व्यापार अभिवृद्धि र स्थानीय वस्तुको बजारीकरणका लागि चेम्बरले प्रत्येक वर्ष सो एक्स्पो गर्दै आएको चेम्बरको भनाइ छ ।
चेम्बर एक्स्पोमा नेपाल, बंगलादेश, भारत, चीन, थाइल्यान्ड, यूएई, दक्षिण कोरिया, मलेसिया र पाकिस्तान लगायतका देशमा उत्पादित वस्तुको प्रर्दशनी र व्यवसायीले सहभागिता हुने आयोजकले जनाएको छ । साथै हस्तकलाका वस्तु, सवारी साधन, घर–जग्गा व्यवसायीलगायत प्रदर्शनमा रहनेछन् । एक्स्पोमा स्वदेशी र विदेशी गरी २ सय भन्दा बढी स्टल रहने प्रदर्शन अवधिभर ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको भनाई छ ।
