पाँचौं नेपाल प्रिन्ट प्याक प्रदर्शनी हुँदै 

पुस २, २०८१

कान्तिपुर संवाददाता

5th Nepal Print Pack Exhibition

काठमाडौँ — मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टसले पाँचौं नेपाल प्रिन्ट प्याक अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल प्लास्टटेक अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गर्ने भएको छ ।

आयोजकद्वय मिडिया स्पेस र फ्युचरेक्सले आगामी पुस ५ देखि ७ सम्म काठमाडौंको भृकुटीमण्डपमा उक्त प्रदर्शनी गर्न लागेको हो ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका सयभन्दा बढी स्टल रहने आयोजकले जनाएका छन् । उक्त प्रदर्शनीले प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्ने व्यापार व्यवसायलाई एकै ठाउँ ल्याएर व्यापार साझेदारी, नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनीको सहआयोजकका रूपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाका रूपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ छन् । प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मसिनरीका उत्पादक सहभागी हुने आयोजकले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully