अब नेपालका १७ सहरमा 'पठाओ'

चैत्र २१, २०८०

कान्तिपुर संवाददाता

Now 'Send' to 17 cities in Nepal

काठमाडौँ — राइड सेयरिङ कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार वाग्मती प्रदेशको काठमाडौं उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा विस्तार गर्न लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए ।

बस्न्यातका अनुसार राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोशी प्रदेशका ९ सहरहरु बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा उपलब्ध हुनेछ । मधेस प्रदेशको वीरगञ्ज र जनकपुरमा पनि सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

त्यसैगरी वाग्मती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार हुन लागेको हो । भविष्यमा अन्य सहरमा पनि सेवा बिस्तार गर्ने योजनामा रहेको कम्पनीले जनाएको छ । ‘नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टर सिटी बुकिङ समेत गर्न मिल्ने गरी पठाओको सेवा बिस्तार गर्न लागेका छौं,’ बस्न्यातले भने । बस्न्यातका अनुसार सेवा बिस्तार गर्न लागिएका सहरमा बाइक राइडर दर्ताको प्रक्रिया पनि सुरु भएको छ ।

‘राइडर बन्न इच्छुकले नविकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजात सहित आबद्धताका लागि आवेदन दिन सक्ने छन्,’ उनले भने, ‘कागजी प्रक्रिया पूरा भएपछि उनीहरुलाई अनलाइनमार्फत तालिम पनि दिइने छ ।’ राइडर बन्नेहरुले प्ले स्टोरबाट ‘पठाओ ड्राइभ’ एप डाउनलोड गर्नुपर्ने छ ।

हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी ब्यक्ति आबद्ध छन् । १ लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन (ट्याक्सी चालक) र फुड डेलिभरीमा ५ हजार बढी दर्ता भइसकेका छन् । पठाओले राइडसँगै पठाओ फूड, बजार र पार्सल सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले सेवाग्राहीको हितमा ध्यानमा राख्दै २४सैं घण्टा कस्टमर केयर सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार हाल कम्पनीको एप ५० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ ।

कान्तिपुर

Link copied successfully