महिन्द्राले ल्यायो फ्ल्यागसिप एक्सयूभी ७००- बजार - कान्तिपुर समाचार

महिन्द्राले ल्यायो फ्ल्यागसिप एक्सयूभी ७००

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागसिप ग्लोबल एसयूभी– एक्सयूभी ७०० बजारमा ल्याएको छ । एक्सयूभी ७०० नेपालको पहिलो महिन्द्रा एसयूभी बनेको र नयाँ पहिचान 'ट्विन पिक्स लोगो'को साथ आएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार भारतबाहिर दक्षिण अफ्रिकापछि नेपालमा यो गाडी सार्वजनिक गरिएको हो । नेपालमा एक्सयूभी ७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक अप्सनसहितको पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ । महिन्द्रा एक्सयूभी ७०० को सुरुवाती मूल्य ७४ लाख रुपैयाँ तोकिएको छ । एक्सयूभी ७०० ले ग्लोबल एनसीएपीको दुर्घटना परीक्षणमा वयस्कहरूका लागि फाइभ स्टार र बच्चाका लागि फोर स्टार प्राप्त गरेको महिन्द्राले जनाएको छ ।

यस एसयूभीमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र क्लस्टर, सिक्स वे पावर्ड ड्राइभर सिट र १२ सोनी स्पिकरसहितको क्लास लिडिङ म्युजिक सिस्टमका सुविधा छन् । एक्सयूभी ७०० ट्विन पिक्स ब्राण्डको एसयूभी सुरुमा काठमाडौंका दुई ट्विन पिक ब्राण्डका शोरुमबाट उपलब्ध गराइने र मार्चसम्म पाँच वटा शोरुममा विस्तार गरिने महिन्द्राले जनाएको छ ।


प्रकाशित : माघ १६, २०७९ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्

सुरक्षा एवं संरक्षण कानुन नहुँदा बलात्कार पीडित र साक्षी होस्टाइल भए : महान्यायाधिवक्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — बलात्कार पीडित र साक्षीको संरक्षणका लागि कानुनको अपर्याप्ताका कारण न्याय सम्पादनमा कठिनाइ भएको महान्यायाधिवक्ता दिनमणि पोखरेलले बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गरेपछि महान्यायाधिवक्ताको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता पोखरेलले साक्षीको सुरक्षाका लागि कानुन निर्माण गर्न पनि सुझाव दिएका छन् ।

पीडित र साक्षीलाई संरक्षण गर्ने कानुन अभावले पीडित र साक्षी होस्टाइल हुने गरेको महान्यायाधिवक्ता पोखरेलको भनाइ थियो । 'साक्षीको सुरक्षासम्बन्धी कानुन नभएकाले बयान तथा बकपत्रका लागि अनुपस्थित भइदिने गरिएको छ,' उनले भने, 'उपस्थित भए पनि कतिपय बलात्कारका मुद्दाहरूमा होस्टाइल हुने र बयान गर्ने हुनाले न्याय सम्पादनमा कठिनाइ छ ।'

महान्यायाधिवक्ताको कार्यालयले सरकारलाई 'साक्षीको सुरक्षा एवं संरक्षणका लागि छुट्टै कानुन निर्माण हुनुपर्ने' पनि सुझाएको छ । वार्षिक प्रतिवेदनमा नै महान्यायाधिवक्ताको कार्यालयले यो सुझाव राखेको हो ।

त्यस्तै, महान्यायाधिवक्ताको कार्यालयले मुलुकी अपराध संहिता र अन्य विशेष ऐनमा भएका एकै विषयका कसुर र सजायको व्यवस्थामा एकरुपता हुनेगरी सम्बन्धित कानुनमा संशोधन गर्न पनि सुझाव दिएको छ । वन ऐन, २०७६ बमोजिमका कसुरमा अनुसन्धान र मुद्दा हेर्ने अधिकारीसम्बन्धी कानुनी प्रावधान संशोधन हुनुपपर्ने पनि उसको माग छ ।

न्यायाधिवक्ताको कार्यालय मातहतका कार्यालयहरूमा कार्यबोझको अनुपातमा जनशक्तिको पुनरवलोकन र बजेट वृद्धि हुनुपर्ने, फौजदारी कानुनको सुधारका सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयबाट दिइएका सुझाव कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

प्रकाशित : माघ १६, २०७९ १९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×