काठमाडौँ — नबिल बैंकले बालबालिकोको कार्यसम्पादनमा उनीहरूको खातामा पैसा जम्मा गरिदिन मिल्ने डिजिटल एपमा आधारित बचत खाता सार्वजनिक गरेको छ । राष्ट्रिय बाल दिवसको अवसर पारेर बैंकले बुधबार ‘नबिल जेन अल्फा’ नामक उक्त एप सार्वजनिक गरेको हो ।
उक्त योजनामा १८ बर्षभन्दा मुनिका बालबालिकाहरू मात्र सहभागी हुन पाउँछन् । बालबालिकाले यो एपमा दिइएको कार्यहरू सम्पादन गरेको आधारमा अंक प्राप्त गर्नेछन् र उक्त अंक सम्बन्धित खातामा पैसाको रूपमा बचत हुनेछ । यो योजनाका लागि बैंकमा अभिभावक र बालबालिका दुबैको खाता हुनुपर्नेछ । अभिभावकले दिएको कार्य बालिबालिकाले पूरा गरेपछि अभिभावकको खाताबाट बालबालिकाको खातामा रकम स्थानान्तरण गरिन्छ । उक्त योजनामा बैंकले वार्षिक ६.३ प्रतिशत ब्याजदर दिन्छ । यदि खातामा ३० हजार रुपैयाँभन्दा धेरै जम्मा भएको अवस्थामा खातामा १० हजार राखेर बाँकी २० हजार रुपैयाँ मुद्दती निक्षेपमा परिणत हुने र त्यसमा ९.०३ प्रतिशत ब्याज प्रदान गर्ने बैंकले जनाएको छ ।
यसरी १८ बर्ष भन्दा मुनिका बाार्षिकलबालिका र अभिभावकलाई लक्षित गरी ल्याइएको यो नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम भएको बैंकले दाबी गरेको छ । यसमार्फत अभिभावकहरूले आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् । यो स्किममार्फत बालबालिकालाई जीवन सिप र बचतको महत्व सिकाउने तथा अभिभावकको दैनिकीमा सहजता ल्याउने बैंकको दाबी छ । नबिल जेन अल्फा बचत खाताबाट बालबालिकाहरूलाई आफ्नो पढाइका साथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यसतर्फ उत्प्रेरित गराउनका लागि यस एपले विशेष भूमिका निभाउने दाबी बैंकको छ ।
