नारायणी अस्पताल घटनाको विरोधमा दोस्रो दिन पनि चिकित्सकको प्रदर्शन

आइतबारदेखि आकस्मिकसहित सम्पूर्ण उपचार सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले सोमबार घण्टाघर चोकमा भेला भएर नाराबाजीसहित प्रदर्शन गरेका छन्

श्रावण ११, २०८३

शंकर आचार्य

Doctors protest for a second day against the Narayani Hospital incident

What you should know

पर्सा — वीरगन्जस्थित नारायणी अस्पतालमा गत शनिबार भएको तोडफोड र चिकित्सकमाथिको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीले सोमबार पनि प्रदर्शन जारी राखेका छन् । दोषीमाथि कडा कारबाही र अस्पतालमा सुरक्षित कार्य वातावरणको माग समेत गरेका छन् ।

आइतबारदेखि आकस्मिकसहित सम्पूर्ण उपचार सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले सोमबार घण्टाघर चोकमा भेला भएर नाराबाजीसहित प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले स्वास्थ्य संस्थामा हुने हिंसात्मक घटनाको अन्त्य, चिकित्सकको सुरक्षा सुनिश्चित गर्न र घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

बिरामीले भरीभराउ रहने नारायणी अस्पतालको आकस्मिक कक्ष सुनसान रहेको छ । अन्य निजी अस्पतालको पनि यस्तै अवस्था रहेको छ । यसैबीच, नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरञ्जन साहले सोमबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय पर्सासँग घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा घटनाको दिनको सीसीटीभी फुटेजका आधारमा तोडफोड र कुटपिटमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ । साथै घटनापछि चिकित्सक र स्वास्थ्यकर्मी मानसिक तथा शारीरिक रूपमा त्रसित भएकाले आकस्मिकसहित सबै उपचार सेवा प्रभावित भएको जनाइएको छ ।

नेपाल चिकित्सक संघको आह्वानमा आइतबारदेखि वीरगञ्जका निजी अस्पतालका चिकित्सकहरू पनि आन्दोलनमा सहभागी भएका छन् । यसको प्रभावस्वरूप सरकारी र निजी दुबै अस्पतालका अधिकांश सेवा प्रभावित बनेका छन् । आकस्मिकसहित नियमित उपचार सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामी र सेवाग्राही समस्यामा परेका छन् ।

प्रहरीले घटनामा संलग्न आरोपमा एक जनालाई आइतबार नै नियन्त्रणमा लिएको भए पनि उनको परिचय सार्वजनिक गरेको छैन । घटनामा गम्भीर घाइते भएका नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले प्रमुख जिल्ला अधिकारी भोला दाहालले चिकित्सकहरुलाई छलफलका लागि बोलाएको र अबको केही बेरमा आफूहरु छलफलका लागि जाने बताए । छलफलको क्रममा प्रजिअबाट घटनामा संलग्नहरूलाई कारबाहीको भरपर्दो प्रतिबद्धता आए आकस्मिक सेवा सन्चालन गरेर अन्य सेवा बन्द गर्ने मनस्थितिमा रहेको उनले बताए ।

शनिबार बिहान वीरगन्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेललाई गम्भीर अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । छातीमा समस्या देखिएको उनको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका डा. प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए । उक्त घटनापछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully