सर्लाहीको विभिन्न स्थानमा बोरिङ सञ्चालन गरिसकेको र भुक्तानी माग्दा कार्यालय प्रमुखले बहाना बनाउने, रकम बार्गेनिङ गर्न थालेपछि बोरिङ सञ्चालकहरुले अख्तियारमा उजुरी दिएका थिए ।
रौतहट — भुक्तानीमा झमेला गर्दै घुसको रकम लिएको आरोपमा शुक्रबार साँझ सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हजारसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुख ढकालको निवासमा छापा मार्दा ढकाल बसेको सोफामै सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपैयाँ फेला परेको आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रमुख ढकाल र मेकानिकल अधिकृत छैटौं तुलाकान्त चौधरीसमेतको मिलेमतोमा बोरिङ र मोटर जडान गर्ने काम सकेर भुक्तानी गर्ने क्रममा सेवाग्रहीलाई दुःख हैरानी दिई घुस मागेको उजुरी निवेदनका आधारमा आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले दुबै सेवाग्राहीबाट–७ हलाख ५० हजार रुपैयाँ घुस लिइसकेको र स्रोत नखुलेको ७१ हजार ११५, मोबाइल ३ थानसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।
नियन्त्रणमा लिइएका दुवैजनालाई आयोगको बर्दिबास कार्यालयमा राखिएको छ । सर्लाहीको विभिन्न स्थानमा बोरिङ सञ्चालन गरिसकेको र भुक्तानी माग्दा कार्यालय प्रमुखले बहाना बनाउने, रकम बार्गेनिङ गर्न थालेपछि बोरिङ सञ्चालकहरुले अख्तियारमा उजुरी दिएका थिए ।
