उपचारका क्रममा ४५ वर्षीय बिरामीको मृत्युपछि आक्रोशित आफन्तले आकस्मिक कक्षमा तोडफोड गरेका हुन्।
पर्सा — वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड गरेका छन्।
शनिबार बिहान करिब ११ बजे वीरगन्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तले आकस्मिक कक्ष प्रवेश गरी तोडफोड गरेका हुन्।
मृतकका भतिजा विकास पटेलले बिरामीलाई छाती दुखेपछि अस्पताल ल्याइएको बताए। उनले चिकित्सकले केही औषधि लेखिदिए पनि अस्पतालमा आवश्यक इसिजी उपकरण तथा अन्य अत्यावश्यक उपचार सामग्री उपलब्ध नभएको र सामान्य औषधिसमेत नपाएको आरोप लगाए।
घटनाका क्रममा स्थानीय बिटका प्रहरीमाथि हातपात गर्ने एक जनालाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रराज मल्लले जानकारी दिए। उनका अनुसार अस्पतालको अवस्था अहिले सामान्य रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
अस्पताल प्रशासनले घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। मृतकका आफन्तले भने उपचारमा लापरबाही भएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन र जिम्मेवारमाथि कारबाहीको माग गरेका छन्।
