कर अधिकृत पालले सुरुमा १२ लाख घुस दिनुपर्ने प्रस्ताव गरेका थिए, बार्गेनिङपछि ५ लाखमा टुंगो लागेको थियो ।
सिरहा —
सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले पाललाई ५ लाख घुससहित पक्राउ गरेको हो ।
पाललाई केही समयअघि मात्रै घुस रकम लिइसकेको अवस्थामा कार्यालयबाटै पक्राउ गरिएको र मुचुल्का लगायतका आवश्यक कानूनी प्रक्रिया पूरा गर्ने कार्य भइरहेको आयोगका बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
अख्तियार स्रोतका अनुसार, गोलबजारस्थित सिरहा सुपर मार्केटको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण गर्ने क्रममा अधिकृत पालले घुस मागेका थिए । पालले सुपर मार्केटका प्रतिनिधिलाई आफूभन्दा माथिका कर अधिकृत प्रकाश राईसहितका व्यक्तिलाई मिलाउनुपर्ने भनेका थिए ।
अडिटका क्रममा कार्यालयले सुरुमा कर, जरिवाना तथा अन्य शीर्षकमा गरी सुपर मार्केटले करिब २ करोड रुपैयाँसम्म कर तिर्नुपर्ने बताएको थियो । तर, केही समयपछि कर्मचारीले ३०-३५ लाख रुपैयाँ कर दायित्व अझ बढ्न सक्ने बताएका थिए ।
यसै क्रममा कर अधिकृत पालले आफूहरूले सबै समस्या समाधान गरिने तर, यसका लागि १२ लाख रुपैयाँ घुस दिनुपर्ने कुरा सुपर मार्केटका प्रतिनिधिलाई भनेका थिए । तर, ती प्रतिनिधिले कम्पनीको आर्थिक अवस्था कमजोर रहेको बताएपछि बार्गेनिङ हुँदै ५ लाख रुपैयाँमा टुंगो लागेको थियो ।
