शव पोखरीमा लुकाउने नाबालिका पक्राउ

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जेठ २२ गते साँझ घरबाहिर खेल्ने क्रममा बेपत्ता भएका मनिकेशको शव जेठ २४ गते साँझ स्थानीय पोखरीमा सिमेन्टको बोराभित्र फेला परेको थियो ।

श्रावण ७, २०८३

सन्तोष सिंह

Minor arrested for hiding body in pond

महोत्तरी — महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डाका ३ वर्षीय मनिकेश कुमार यादवको मृत्यु साइकलको ठक्करबाट भएको र घटना लुकाउन शव पोखरीमा फालिएको रहस्य खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जेठ २२ गते साँझ घरबाहिर खेल्ने क्रममा बेपत्ता भएका मनिकेशको शव जेठ २४ गते साँझ स्थानीय पोखरीमा सिमेन्टको बोराभित्र फेला परेको थियो । घटनास्थलबाट बालकका दुवै हातमा रहेका चाँदीका बाला पनि हराएका थिए ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले करिब १५ वर्षीया एक नाबालिकालाई साउन ५ गते नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए । 

प्रारम्भिक अनुसन्धानको क्रममा नाबालिकाले मल बोकेको साइकल खेततर्फ लैजाँदै गर्दा ब्रेक नलागेका कारण विपरीत दिशाबाट दौडँदै आएका बालक साइकल अगाडि परेको र ठक्करपछि साइकलका दुवै चक्का बालकको छातीमाथि चढ्दा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक गोलले बताए । 

प्रहरीका अनुसार घटना बाहिरिने डरले नाबालिकाले बालकको शव सिमेन्टको बोरामा राखेर करिब ३ सय मिटर टाढाको पोखरीमा फालेकी थिइन् । बालकका हातमा रहेका दुई थान चाँदीका बाला पनि निकालेर लुकाएको प्रहरीको भनाइ छ ।

अनुसन्धानका क्रममा प्रहरीले हराएका दुई थान चाँदीका बाला तथा घटनामा प्रयोग भएको साइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब गोलेका अनुसार नाबालिकाविरुद्ध कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully