वीरगन्ज महानगरमा लक्ष्यको ४० प्रतिशत पनि राजश्व उठेन

महानगरमा सम्पत्ति कर, घरबहाल कर, नक्सापास दस्तुरलगायतका शीर्षकबाट बढी राजश्व संकलन भएको छ ।

श्रावण ७, २०८३

शंकर आचार्य

Less than 40 percent of the revenue target collected in Birgunj Metropolitan City

What you should know

पर्सा — वीरगन्ज महानगरपालिकाको कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यअनुसार राजश्व संकलन गर्न सकेको छैन।

महानगरले १ अर्ब ७० करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य राखे पनि लक्ष्यको आधाभन्दा कम अर्थात् ६७ करोड ५९ लाख ६४ हजार ८ सय ९८ रुपैयाँ ३९ पैसा मात्र संकलन गरेको हो । यो कुल लक्ष्यको करिब ३९ दशमलव ७६ प्रतिशत मात्रै हो । यसले महानगरको आन्तरिक आम्दानी अपेक्षाअनुसार बढ्न नसकेको देखिएको छ ।

यद्यपि अघिल्लो आर्थिक वर्षको तुलनामा भने राजश्व संकलनमा सामान्य वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा महानगरले ६२ करोड ९३ लाख ८५ हजार ३ सय ४४ रुपैयाँ राजश्व संकलन गरेको थियो । त्यसको तुलनामा गत वर्ष करिब ४ करोड ६५ लाख ७९ हजार रुपैयाँ बढी राजश्व उठेको हो ।

महानगरको आय शीर्षकअनुसार सबैभन्दा धेरै राजश्व सम्पत्ति कर, घरबहाल कर, नक्सापास दस्तुर लगायतका शीर्षकबाट संकलन भएको छ । सम्पत्ति करबाट १९ करोड ७३ लाख ६ हजार ७ सय ६० रुपैयाँ, घरबहाल करबाट १४ करोड ९ लाख ७३ हजार १ सय ९,  नम्सापास दस्तुरबाट ४ करोड ६४ लाख ९१ हजार ५ सय ३ रुपैयाँ राजश्व संकलन भएको छ ।

महानगरका करदाता भने अधिकांश करको दर चर्को भएकाले सामान्य नागरिकलाई बोझिलो बनेको बताउँछन् । शिरोमणिनगरका सन्जय पटेल सम्पत्ति कर, घरबहाललगायतका महानगरको करको दर चर्को भएको बताउँछन् । 

वीरगन्ज महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहरा गत वर्ष राजश्व संकलनको प्रक्षेपण नै बढी भएकाले पनि लक्ष्य अनुरुपको राजश्व संकलन हुन नसकेको बताउँछन् । राजश्वमा बढी योगदान गर्ने सम्पत्ति करको दायरामा लक्षित वर्गहरुलाई समेटन नसक्नु अर्को प्रमुख कारण रहेको उनले बताए । चालु आर्थिक वर्षमा राजश्व प्रशासनलाई थप प्रभावकारी बनाउँदै आन्तरिक स्रोत परिचालन बढाउने योजना महानगरले अघि सारेको उनले बताए ।  

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully