सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर तथा वीरगन्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादले बुधबार दिउँसो १ बजेदेखि घण्टाघर क्षेत्रबाट काम सुरु गरिएको जानकारी दिएका छन् ।
पर्सा — वीरगन्ज महानगरपालिका क्षेत्रको मुख्य सडक विस्तार बुधबारदेखि पुनः सुरु भएको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर तथा वीरगन्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादले बुधबार दिउँसो १ बजेदेखि घण्टाघर क्षेत्रबाट काम सुरु गरिएको जानकारी दिएका छन् । यसअघि कार्यालयको टोलीले गत बुधबारसम्म सडक विस्तारसम्बन्धी काम गरेको थियो । वीरगन्जमा गत बिहीबार गहवामाईको रथयात्रा परेको र अत्यधिक गर्मीलगायतका कारण काम स्थगित गरिएको थियो ।
बुधबार घण्टाघर क्षेत्रको साना ठूला गरी करिब एक दर्जन घर भत्काइएको छ । त्यहाँ रहेका डाबर नेपालको र अन्य २ ठूला घर भने बिहीबार भत्काउने योजना रहेको उनले बताए । त्यहाँ रहेको नेपानी सेनाको कम्पाउण्ड वाल र भवनलाई तत्काललाई नछोइएको उनले बताए । सम्भवतः शुक्रबारदेखि बिर्ता क्षेत्रमा अधुरो छोडिएको भत्काउने काम सुरु गरिने उनले बताए ।
सडक विभागले पहिलो चरणमा गत ६ र ७ वैशाख मुख्य सडक क्षेत्रका करिब १२ सय घर तथा भवनमा डोजर चलाएको थियो । त्यसक्रममा अधिकांश संरचनाको अगाडिको भाग भत्काइएको थियो ।
सडक सीमाभित्र परेका संरचना २५ दिनभित्र स्वयं हटाउन सम्बन्धितलाई आग्रह गरिएको भए पनि समयसीमा सकिँदासमेत धेरै संरचना यथावत् रहेपछि विभागले २ साताअघि दोस्रो चरणको अभियान सुरु गरेको हो ।
