वीरगन्जमा सडक विस्तार अभियान बुधबारदेखि पुनः सुरु हुने

सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर तथा वीरगन्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादले बुधबारदेखि काम सुरु गर्ने गरी मंगलबार टोली वीरगन्ज पुगिसकेको बताए ।

श्रावण ५, २०८३

शंकर आचार्य

Road expansion campaign in Birgunj to resume from Wednesday

पर्सा — वीरगन्ज महानगरपालिका क्षेत्रको मुख्य सडक विस्तार बुधबारदेखि पुनः सुरु हुने भएको छ ।

सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर तथा वीरगन्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादले बुधबारदेखि काम सुरु गर्ने गरी मंगलबार टोली वीरगन्ज पुगिसकेको बताए ।

बुधबार बिहान सरोकारवालाहरूसँग छलफल गरी मध्यान्ह करिब १२ बजेबाट विस्तार अभियान सुरु गर्ने योजना रहेको उनले बताए । अभियानमा साविककै जत्तिको संख्यामा (आधा दर्जन) डोजर प्रयोग गरिने छ । यसअघि कार्यालयको टोलीले गत बुधबारसम्म सडक विस्तारसम्बन्धी काम गरेको थियो ।

वीरगन्जमा गत बिहीबार गहवामाईको रथयात्रा परेको, अत्यधिक गर्मीलगायतका कारण काम स्थगित गरिएको थियो ।

सडक विभागले पहिलो चरणमा गत ६ र ७ वैशाख मुख्य सडक क्षेत्रका करिब १२ सय घर तथा भवनमा डोजर चलाएको थियो । त्यसक्रममा अधिकांश संरचनाको अगाडिको भाग भत्काइएको थियो । सडक सीमाभित्र परेका संरचना २५ दिनभित्र स्वयं हटाउन सम्बन्धितलाई आग्रह गरिएको भए पनि समयसीमा सकिँदासमेत धेरै संरचना यथावत् रहेपछि विभागले २ साताअघि दोस्रो चरणको अभियान सुरु गरेको हो ।

दोस्रो चरणअन्तर्गत हालसम्म उत्तर गण्डक र दक्षिण मितेरी पुलतर्फबाट करिब १२५ भवन तथा संरचना भत्काइएको कार्यालयले जनाएको छ । अहिले त्रिभुवन राजपथको पूर्वतर्फका अधिकांश संरचना हटाइएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully