डेरीले नकिन्दा आक्रोशित किसानले पोखे दूध

सहकारीआवद्ध किसानको दूध नकिन्दा आक्रोशित बनेका उनीहरुले संस्थाले संचालन गरेको डेरीकै अगाडि दूध पोखेर विरोध जनाएका हुन् ।

श्रावण २, २०८३

विद्यानन्द राम

Angry farmer spills milk after dairy refuses to buy it

What you should know

राजविराज — सप्तरीको बलान बिहुल गाउँपालिका–५ स्थित रामनगर साना किसान कृषि सहकारी संस्थाले संचालन गरेको डेरीले दूध नकिन्दा किसान आक्रोशित बनेका छन् । 

शनिबार सहकारीआवद्ध किसानको दूध नकिन्दा आक्रोशित बनेका उनीहरुले संस्थाले संचालन गरेको डेरीकै अगाडि दूध पोखेर विरोध जनाएका हुन् । ‘सहकारीबाट २ लाख रुपैयाँ उठाएर ३ वटा गाई र एउटा भैंसी किनेको छु,’ स्थानीय महेन्द्र यादवले भने, ‘अहिले दूध बेचेरै ऋण चुक्तासँगै परिवारको दैनिकी चलाउँदै आएको छु तर हिजैदेखि संस्थाले दूध किन्न अनाकानी गर्दै आएको छ ।’

उनले शुक्रबार धेरै आग्रह गर्दा दूध किने पनि शनिबार किन्न नमान्दा आफुहरु आक्रोशित बनेको बताए । ‘संस्थाले दूध नकिने आफुहरुलाई परिवारको दैनिकी चलाउन र ऋण चुक्ता गर्न समस्या हुन्छ,’ उनले भने, ‘हामी दैनिक ३/४ सय लिटर दूध बेच्न कहाँ जाने ?’

सहकारीद्वारा सञ्चालित दूध संकलन तथा प्रशोधन (किसान डेरी)का सञ्चालक रामबाबु यादवले यसअघिका सञ्चालक राजकुमार यादवले सरसमान हस्तान्तरण नगर्दा दूध किन्न नसकिएको बताए ।

गत असार २२ मा सहकारीको उपसमितिको निर्णयअनुसार डेरी सञ्चालन गर्न रामबाबुसँग सम्झौता भएको हो । त्यसअघि सञ्चालक रहेका राजकुमारले एक वर्षसम्मको हरहिसाब नै नगरी अध्यक्ष रामचन्द्र यादवले मनोमानी ढंगले आफ्न्तलाई नै सञ्चालक बनाएको बताए । ‘१०/१२ वर्षदेखि मैले दूध संकलन र व्यवस्थापन गर्दै आएको छु,’ उनले भने, ‘अहिले म ३ लाख घाटामा छु तर मलाई कुनै सोधपुछ गरेको छैन ।’

संस्थाका अध्यक्ष रामचन्द्र यादवले कानूनअनुसार विधि, प्रक्रिया पूरा गरेर टेन्डरबाट जिम्मेवारी तोकिएको बताए । ‘मैले मनोमानी गरेको छैन । उहाँ (राजकुमार) गलत–गलत आरोप लगाउनुहुन्छ,’ उनले भने, ‘किसानसँग दूध किन्ने विषयमा अहिले वडाध्यक्षसमेतलाई राखेर छलफल भइरहेको छ । समाधान हुन्छ ।’  

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully