वीरगञ्जमा गहवामाईको चौथो रथयात्रा समापन

रथयात्रामा सहभागी हुन बिहानैदेखि बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका भक्तजन मन्दिर परिसरमा भेला भएका थिए।

असार ३२, २०८३

शंकर आचार्य

Fourth Rath Yatra of Gahwamai concludes in Birgunj

पर्सा — वीरगञ्जको प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरको चौथो रथयात्रा बिहीबार सम्पन्न भएको छ ।

बिहान विशेष पूजा–आराधनापछि मन्दिर परिसरबाट सुरु भएको रथयात्रा घण्टाघर, रेलवे रोडको भित्री बाइपास, छपकैया, मुख्य सडक, अस्पताल रोड, मकालु चोक, आदर्शनगर, घडिअर्वा हुँदै पुनः माईस्थान मन्दिर पुगेर समापन भएको हो ।

रथयात्रामा सहभागी हुन बिहानैदेखि बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका भक्तजन मन्दिर परिसरमा भेला भएका थिए। रथयात्रा सुरु हुनुअघि वर्षा भए पनि त्यसले भक्तजनको उत्साहमा असर पारेन।

Fourth Rath Yatra of Gahwamai concludes in Birgunj

आयोजकका अनुसार बिहानको रथयात्रापछि दिउँसो गहवामाई विशेष पूजा सञ्चालन गरिएको छ । बेलुका मुख्य हवन र महाआरती आयोजना गरिए पछि भक्तजनलाई प्रसाद वितरण गरिने गहवामाई मन्दिर सन्चालक समितिका सचिव कन्हैयालाल केशरीले बताए ।  

Fourth Rath Yatra of Gahwamai concludes in Birgunj

वीरगञ्जको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित गहवामाई रथयात्राले धार्मिक सद्भाव, सामाजिक एकता र सांस्कृतिक परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजकको विश्वास छ।

रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएका थिए। सुरक्षा निकायले रथयात्रा मार्गभर सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालन गरी निगरानी बढाएको थियो। 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully