वीरगन्ज महानगर क्षेत्रको सडक विस्तार रोकियो

‘अब साउनको २ वा ३ गतेबाट पुन: काममा फर्किन्छौं ’

असार ३१, २०८३

शंकर आचार्य

Road expansion in Birgunj metropolitan area halted

पर्सा — वीरगन्ज महानगरपालिका क्षेत्रको मुख्य सडक विस्तार केही दिनका लागि रोकिएको छ । सडक डिभिजन हेटौँडाका इन्जिनियर तथा वीरगन्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार बुधबार दिउँसो २ बजेसम्म मकालु होटलदेखि विर्ता मन्दिरबीचको क्षेत्रका केही अग्ला घर भत्काइएको छ ।

बुधबार पनि नाला र फुटपाथको सरसफाईको प्राथमिकता दिइएको र त्यस काममा कार्यालयका २÷३ वटा उकपरण निरन्तर परिचालन भई रहेको उनले बताए । बिहीबारदेखि केही दिनका लागि सडक विस्तार रोकिएको प्रसादले जानकारी दिए । ‘बिहीबार वीरगन्जमा गहवामाईको रथ यात्रा छ । यस्तै, हाम्रा अधिकांश कर्मचारी निरन्तरको काम र गर्मी र धपेडीका कारण बिरामी परेका छन्,’ उनले भने, ‘अब साउनको २ वा ३ गतेबाट पुन: काममा फर्किन्छौं ।’

गत ६ र ७ वैशाखमा सडक विभागले पहिलो चरणमा मुख्य सडक क्षेत्रका करिब १२०० घर तथा भवनमा डोजर चलाएको थियो । त्यसक्रममा अधिकांश संरचनाको अगाडिको भाग भत्काइएको थियो भने सडक सीमा क्षेत्रमा परेका संरचना २५ दिनभित्र आफैं हटाउन सम्बन्धितलाई आग्रह गरिएको थियो । तर समयसीमा सकिँदा समेत धेरै संरचना यथावत् रहेपछि विभागले डेढ साताअघि दोस्रो चरणको अभियान अघि बढाएको हो ।यस अवधिमा कार्यालयले उत्तर गण्डक र दक्षिण मितेरी पुल तर्फबाट गरी करीब १२५ भवन तथा संरचाना भत्काएको छ ।

अहिले त्रिभुवन राजपथको पूर्वतर्फको संरचना मात्रै भत्काइँदै छ । पश्चिमतर्फ हालसम्म डोजर चलाइएको छैन ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully