छोटो बिश्रामपछि पुनः सडक बिस्तारको काम दुई/चार दिनभित्रै सुरु गर्ने योजना रहेको सडक डिभिजन हेटौंडाले जनाएको छ।
पर्सा — वीरगन्ज महानगरपालिकाको मुख्य सडक क्षेत्र सडक बिस्तारको काम केही शिथिल भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले पुरिएका सडक छेउका नाला तथा फुटपाथ सफाइको कामलाई प्राथमिकता दिएपछि सडक बिस्तारको कामको गति केही कम भएको हो ।
सडक डिभिजन हेटौंडाले मंगलबार मुर्ली तथा नारायणी अस्पताल क्षेत्रमा नाला र फुटपाथ सफाईको काम सम्पन्न गरेको छ । सडक डिभिजन हेटौंडाका इन्जिनियर तथा वीरगन्जका लागि तोकिएका फोकलपर्सन दुर्गा प्रसादका अनुसार हाल विर्ता मन्दिरदेखि उत्तरतर्फ सडक बिस्तारको काम जारी छ । त्यस क्षेत्रमा रहेका केही अग्ला घर भत्काउने काममा निकै समय खर्च भइरहेको पनि उनले बताए ।
बुधबार दिउँसोसम्म ती घर भत्काइ सकेपछि केही दिनका लागि सडक बिस्तारको कामलाई बिश्राम दिइने उनले बताए । असार ३२ गते वीरगन्जमा गहवामाइको रथ यात्रा तथा आर्थिक वर्षको अन्त्य पनि भएकाले कर्मचारीलाई पनि निरन्तरको कामबाट केही दिन विश्राम दिन लागिएको उनले बताए । छोटो बिश्राम पछि पुनः सडक बिस्तारको काम दुई/चार दिनभित्रै सुरु गर्ने योजना रहेको उनले बताए ।
गत वैशाख ६ र ७ मा सडक विभागले पहिलो चरणमा मुख्य सडक क्षेत्रका करिब १२ सय घर तथा भवनमा डोजर चलाएको थियो । त्यसक्रममा अधिकांश संरचनाको अगाडिको भाग भत्काइएको थियो भने सडक सीमा क्षेत्रमा परेका संरचना २५ दिनभित्र आफैं हटाउन सम्बन्धितलाई आग्रह गरिएको थियो । तर समयसीमा सकिँदासमेत धेरै संरचना यथावत् रहेपछि विभागले डेढ साता अघिदेखि दोस्रो चरणको अभियान बढाएको हो ।
