मधेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको ५६.३१ प्रतिशत मात्र खर्च गरेको हो ।
जनकपुर — मधेश प्रदेश सरकारले आर्थिक वर्ष ०८२/०८३ मा ५६.३१ प्रतिशत मात्र बजेट खर्च गरेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार मधेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको ५६.३१ प्रतिशत मात्र खर्च गरेको हो ।
प्रदेश सरकारले चालुतर्फ ६०.६९ र पूँजीगत तर्फ ५४.१२ प्रतिशत बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय जनकपुरका लेखा नियन्त्रक मनोजकुमार झाले जानकारी दिए ।
मधेश प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यतिर अनावश्यक खर्चमा लगाम लगाएको थियो । मधेशका अर्थमन्त्री युवराज भट्टराईले टुक्रे योजना, अनावश्यक खर्च, रकमान्तरणलगायतमा रोक लगाएका कारण प्रदेश सरकारको खर्च खुम्चिएको बताए । मधेश प्रदेश सरकारले गत आर्थिक वर्षमा अहिलेसम्मकै बढी ७०.१६ प्रतिशत बजेट खर्च गरेको थियो ।
मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४६ अर्ब ९८ करोड ३३ लाख बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा कुल २६ अर्ब ४५ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ। चालुतर्फ ९ अर्ब ४९ करोड १५ लाख रुपैयाँ खर्च गरेको छ भने पूँजीगत तर्फ १६ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
