गण्डक नहरमा बढी भएको पानी सिक्टा नदीमा खसालियो

३ दिन नियमित वर्षापछि नहर सिंचित क्षेत्रका खेतमा पर्याप्त पानी उपलब्ध भएर माग घट्दा नहरको पानी स्केपबाट सिक्टा नदीमा झारिएको हो।

असार ३०, २०८३

शंकर आचार्य

Excess water in the Gandak Canal was discharged into the Sikta River

पर्सा — गण्डक नहरमा आवश्यकता भन्दा बढी भएको पानी सिक्टा स्केपमा झार्न थालिएको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकृत इन्जिनियर मुकेश ठाकुरले ३ दिन नियमित वर्षापछि नहर सिंचित क्षेत्रका खेतमा पर्याप्त पानी उपलब्ध भएर माग घट्दा नहरको पानी स्केपबाट सिक्टा नदीमा झारिएको बताए ।

यस वर्ष भारतीय पक्षले असार १० देखिनै नहरमा ८ सय ५० क्युसेक पानी दिएकोमा हाल माग नभएको अवस्थामा सिक्टा नदीमा पानी झारेर नहरमा ५ सय देखि ६ सय क्युसेक मात्र पानी राखिएको उनले जानकारी दिए । 

कतिपय स्थानबाट नहरमा पानी बढी भएर क्षति हुन लागेको गुनासो पनि किसानबाट आएकाले त्यसो गरिएको ठाकुर बताउँछन् । हाल नहरको पानी ब्लक नम्बर ११ सम्म पुगेको छ । बाराको सिम्रौनगढको पश्चिम क्षेत्रसम्म नहरको पानी पुगेको र तत्काललाई त्यहाँ भन्दा अगाडि पानी नपठाइएको उनले बताए ।

भारतसँगको गण्डक सम्झौता अनुसार, वर्षेनी धानका लागि असार १५ र  गहुँ बालीका लागि पुस १० देखि नहरमा ८ सय ५० क्युसेक पानी भारतीय पक्षले दिनु पर्छ ।

नवलपरासीको भैंसालोटनस्थित नेपाल-भारत सीमामा निर्मित व्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किमी यात्रा गरेर यो नहर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकीटोलाबाट नेपालमा प्रवेश गर्छ । पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा बिभाजित गण्डक नहरको लम्बाई नेपालतर्फ ८१ किमी रहेको छ ।  

गण्डक व्यारेजको निर्माण भारतले आफैं गरेको र सन्चालन पनि भारतीय पक्ष आफैले गर्छ । सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिंचित गर्ने लक्ष्य रहे पनि रौतहट तर्फ पानी नै नपुग्ने भएकाले लक्षित सिँचाइ भने हुन सकेकाे छैन ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully