विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलको संयुक्त अभ्यास

पर्साको बिन्दबासिनी गाउँपालिका–४ स्थित छठघाट तथा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्लाको सिसुवा ग्राम पञ्चायत–५ अन्तर्गत तिलावे खोलामा संयुक्त अभ्यास सञ्चालन गरिएको हो।

असार २९, २०८३

शंकर आचार्य

Joint exercise between the Armed Police Force and the Indian Border Security Force on disaster management

पर्सा — नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुन सक्ने बाढी तथा डुबानजन्य विपद्को सामना गर्ने तयारीलाई सुदृढ बनाउन सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलले संयुक्त विपद् व्यवस्थापन कृत्रिम अभ्यास सोमबार सम्पन्न गरेका छन्।

पर्साको बिन्दबासिनी गाउँपालिका–४ स्थित छठघाट तथा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्लाको सिसुवा ग्राम पञ्चायत–५ अन्तर्गत तिलावे खोलामा संयुक्त अभ्यास सञ्चालन गरिएको हो।

अभ्यासमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय अलौका सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्दबहादुर केसी तथा भारतीय एसएसबी ४७औँ बटालियन, जी कम्पनी सिसुवाका सहायक कमान्डेन्ट संगम सिंह रावतको नेतृत्वमा दुवै देशका सुरक्षा निकायको संयुक्त टोली सहभागी भएको थियो।

Joint exercise between the Armed Police Force and the Indian Border Security Force on disaster management

बाढी र डुबानका कारण जोखिममा परेका नागरिकको सुरक्षित उद्धार, उद्धार कार्यमा आवश्यक समन्वय तथा विपद् प्रतिकार्य क्षमताको व्यावहारिक अभ्यास कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो। अभ्यासका क्रममा दुवै देशका विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मीले बाढीमा फसेका व्यक्तिको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा समन्वयात्मक कार्यसम्पादनको प्रदर्शन गरेका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भद्रभलादमी, सीमावर्ती क्षेत्रका स्थानीयवासी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो। सशस्त्र प्रहरी बल, नेपालले सीमावर्ती क्षेत्रमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि, नेपाल–भारत सुरक्षा निकायबीच समन्वय सुदृढीकरण तथा जनधनको क्षति न्यूनीकरणका लागि यस्ता संयुक्त अभ्यास हरेक वर्ष सञ्चालन गर्दै आएको जनाएको छ।

आगामी दिनमा पनि भारतीय समकक्षी एसएसबीसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिइने सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully