एक सातामा सडक डिभिजनले वीरगन्जमा ३ सय घर भत्कायो

वीरगन्ज महानगरपालिकाको मुख्य सडक क्षेत्रमा एक सातामा ३ सयभन्दा बढी घर डोजर प्रयोग गरी भत्काइएको छ, अझै २ किलोमिटर क्षेत्रमा काम जारी छ।

असार २७, २०८३

शंकर आचार्य

In one week, the Road Division demolished 300 houses in Birgunj

What you should know

पर्सा — – वीरगन्ज महानगरपालिकाको मुख्य सडक क्षेत्रमा सडक बिस्तारको काम थालिएको एक सातामा करिब ३ सय घर भत्काइएको छ ।

सडक डिभिजन हेटौंडाका इन्जिनियर तथा वीरगन्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादले गण्डकदेखि घण्टाघरसम्म र मितेरी पुलदेखि वीरगन्ज उद्योग वाणिज्य संघको भवनसम्म गरेर यति परिमाणमा भवन भत्काइएको जानकारी दिए ।

उनले हाल परिचालित ६ वटा डोजरले दैनिक ५० देखि ६० वटासम्म घर भत्काइरहको जानकारी दिए । कूल ८ किलोमिटर सडक क्षेत्रमा घर भत्काउनु पर्नेमा करिब ६ किलोमिटर क्षेत्रको घर भत्काएर हटाइसकिएको उनले बताए ।

अब बाँकी रहेको २ किलोमिटर सडक क्षेत्रमा सडक भत्काउने काम पनि क्रमशः जारी रहने उनले बताए । भत्काउन बाँकी रहेको बजार क्षेत्रका केही घरधनीले आफ्नो भवनको संरचना आफै हटाइरहेकाले यस क्षेत्रमा काम गर्न त्यति कठिनाई नहुने उनले बताए ।

गत शुक्रबारदेखि बुधबारसम्म गण्डकदेखि घण्टाघरसम्म र बिहीबारदेखि शुक्रबारसम्म मितेरी पुलबाट उत्तरतिर डोजर चलाउन थालिएको हो । गत वैशाख ६ र ७ मा सडक विभागले पहिलो चरणमा मुख्य सडक क्षेत्रका करिब १२ सय घर तथा भवनमा डोजर चलाएको थियो ।

त्यसक्रममा अधिकांश संरचनाको अगाडिको भाग भत्काइएको थियो भने सडक सीमा क्षेत्रमा परेका संरचना २५ दिनभित्र आफै हटाउन सम्बन्धितलाई आग्रह गरिएको थियो । तर समयसीमा सकिँदासमेत धेरै संरचना यथावत् रहेपछि विभागले गत शुक्रबारदेखि दोस्रो चरणको अभियान अघि बढाएको हो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully