वीरगन्जमा मुख्य सडक विस्तारको काम मितेरी पुलबाट उत्तरतर्फ

बिहीबार नेपाल-भारत सीमास्थित मितेरी पुल तर्फबाट उत्तर डोजर चलाइएको छ ।

असार २६, २०८३

शंकर आचार्य

Main road expansion work in Birgunj From the Miteri Bridge northward

पर्सा — वीरगन्ज महानगरपालिकाको मुख्य सडक क्षेत्रमा सडक विस्तारको क्रममा बिहीबार नेपाल-भारत सीमास्थित मितेरी पुल तर्फबाट उत्तर डोजर चलाइएको छ ।

बुधबार घण्टाघर नजिकको नेपाली सेनाको ब्यारेकसम्म डोजर चलाइएको थियो । सडक डिभिजन हेटौंडाका इन्जिनियर तथा वीरगन्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादले घण्टाघरदेखि दक्षिण मुल बजार क्षेत्रमा डोजर चलाउन विद्युत् लाइन काट्नुपर्ने भएकाले तत्काललाई दक्षिणबाट उत्तरतर्फ काम सुरु गरिएको जानकारी दिए । बिहीबार एकै दिन श्रीराम हलसम्मको सडक विस्तार गरिएकामा शुक्रबार बिर्ता चोकसम्म पुग्ने लक्ष्य रहेको उनले बताए ।

घण्टाघर हुँदै मुख्य बजार क्षेत्रमा प्रवेश गर्न सडकको साँघुरो अवस्था तथा बिजुलीका पोलको कारण समस्या हुने भएकाले बिहीबारदेखि मितेरी पुलतर्फबाट काम थालिएको हो । 

बिहीबार घर हटाउने अभियानमा आधा दर्जन डोजर एकसाथ परिचालन गरिएको छ । गत वैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा मुख्य सडक क्षेत्रका करिब १२ सय घर तथा भवनमा डोजर चलाएको थियो । त्यस क्रममा अधिकांश संरचनाको अगाडिको भाग भत्काइएको थियो भने सडक सीमा क्षेत्रमा परेका संरचना २५ दिनभित्र आफै हटाउन सम्बन्धितलाई आग्रह गरिएको थियो । तर समयसीमा सकिदाँसमेत धेरै संरचना यथावत् रहेपछि विभागले शुक्रबारदेखि दोस्रो चरणको अभियान अघि बढाएको हो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully